• Tuesday 28th of July 2026

सातै प्रदेशमा ‘कोभिड विशेष नर्स समूह’


  • गोकर्णेश्वर अनलाइन

के तपाइँलाई कोरोना सङ्क्रमणका विषयमा आधिकारिक जानकारी आवश्यक छ ? कि सङ्क्रमित भएर के गर्ने, के नगर्ने भन्ने दोेधारमा हुनुहन्छ ? यदि त्यस्तो छ भने आत्तिनुपर्दैन । अब घरमै बसेर तपाइँले फोनमार्फत स्वास्थ्यकर्मीबाट आधिकारिक जानकारी पाउनु हुनेछ । नागरिकलाई सही सूचना दिनका लागि ‘कोभिड विशेष नर्स समूह’ परिचालन भएका छन् ।
कोरोना भाइरस महामारी र नियन्त्रणका लागि नर्सहरुले स्वतःस्फूर्त ‘कोभिड विशेष नर्स समूह’ बनाएर निःशुल्क परामर्श दिन शुरु गरेका हुन् । सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका सूचनाहरु कुन सही र गलत हुन् भनेर छुट्याउन गाहे भइरहेको र अनावश्यक औषधिको प्रयोग अत्यधिक मात्रामा बढेका कारण आम नागरिकलाई परामर्श दिन यस्तो समूह बनाइएको हो । कोरोना शुरु भएदेखि नै नर्सहरुले उचित परामर्श दिने काम गर्दै आएपनि अहिले समूह नै बनाएर काम शुरु गरेका हुन् ।
कतिपय बिरामी कोभिड सङ्क्रमण भएपछि स्वास्थ्य सामान्य हुँदा पनि हतास मनस्थितिमा अस्पताल पुग्दा अस्पतालले धान्न नसक्ने स्थिति आएको र अस्पताल जानुपर्ने गम्भीर बिरामी सूचनाको अभावले घरमै बस्दा ज्यान जोखिममा परिरहेको भन्दै ‘कोभिड विरुद्ध नर्स समूह’ बनाएर परामर्श दिन थालिएको ‘कोभिड विशेष नर्स समूह’ का राष्ट्रिय संयोजक दुर्गा सापकोटाले जानकारी दिनुभयो । यो समूहले देशका सातै प्रदेशमा आजदेखि कोरोना सङ्क्रमणका विषयमा उचित परामर्श दिन शुरु गरेको संयोजक सापकोटाले बताउनुभयो ।
कोभिड विशेष नर्सले कोभिडबाट सङ्क्रमित नहुन के गर्ने ? यदि सङ्क्रमण भयो भने कसरी व्यवस्थापन गर्ने, घरमा आइसोलेशन बस्दा परिवारका अरु सदस्यलाई कसरी जोगाउने ? कस्तो खाना खाने ? आफ्नो मानसिक स्वास्थ्य कसरी सन्तुतिल राख्ने ? कुन बेला अस्पताल जाने ? लगायतका विषयमा नागरिकलाई निःशुल्क परामर्श दिनेछन् । यसका लागि लुम्बिनी प्रदेशको संयोजकमा रिचा घिमिरे र कोभिड विशेष नर्स सुमित्रा ढकाललाई सम्पर्क गर्न सकिने छ ।
सुदूरपश्चिम प्रदेशको संयोजकमा किरण चन्द र परामर्शदाता मीना चन्द, कर्णाली प्रदेशको संयोजकमा प्रतिमा खत्री र परामर्शदाता मोना दाहाल, वाग्मती प्रदेशमा संयोजक अमृता बराल र परामर्शदाता ममता केसी रहनुभएको छ । त्यस्तै प्रदेश नं १ को कोभिडविरुद्ध नर्सको संयोजक शिक्षा कार्की, परामर्शदाता विद्या बस्नेत, गण्डकी प्रदेशको संयोजक नवीना कोइराला र परामर्शदाता रीता गौतम तथा प्रदेश २ को संयोजकमा रीता गौतम र परामर्शदातामा सिर्जना चौधरी रहनुभएको छ । ‘कोभिड विशेष नर्स समूह’ को फेसबुक पेजमा परामर्शदाताको नाम, नम्बर तथा अन्य सूचनाहरु समेत राखिएको छ ।
“कोरोना सङ्क्रमणका विषयमा सही सूचना नपाउँदा नागरिकहरु अन्यौलमा छन् । अन्यौल हटाएर आवश्यक परामर्श तथा अन्य सेवाका लागि सहजीकरणको काम गर्छौं”, लुम्बिनी प्रदेशका कोभिड विशेष नर्स ढकालले भन्नुभयो । ‘कोभिड विरुद्ध नर्स समूह’मा अग्रभागमा काम गरेका अनुभवी तथा नर्सिङ पढ्दै गरेका, पढाइ सकेर घर बसेका नर्स, अनमी तथा विभिन्न सङ्घ संस्थामा काम गरिरहेका नर्सहरु सहभागी छन् ।
कोरोना महामारीका कारण अधिकांश जिल्लामा बन्दाबन्दी भएकाले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा र परामर्श लिन नसकेको परिस्थितिलाई मनन गर्दै ‘कोभिड विशेष नर्स समूह’ ले कोभिड सङ्क्रमितलाई र सूचना लिन चाहनेहरुलाई फोनबाट निःशुल्क परामर्श दिने काम शुरु गरिएको हो । “यो महामारीमा सबैले आफ्नो ठाउंँबाट आफूले सक्दो काम गरेमा महामारीबिरुद्धको लडाई जित्न सकिन्छ भन्ने अभिप्रायले कोरोना नियन्त्रणमा सरकारको अभियानलाई सहयोग गर्न नर्सहरुको समूह बनाएर काम थालेका हौँ”, राष्ट्रिय संयोजक सापकोटाले भन्नुभयो । कति ठाउँमा नेपाली भाषामा मात्रै सूचना प्रकाशित हुँदा भाषाको समस्याले गर्दा प्रभावकारी सूचनाको सम्प्रेषण हुन नसकेको देखिएकाले स्थानीय भाषामै परामर्श दिनसक्ने गरी विशेष दख्खल भएका नर्स परिचालन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology