• Sunday 26th of July 2026

भक्तपुरका किसानहरुलाई गहुँ भित्र्याउने चटारो


  • गोकर्णेश्वर अनलाइन

भक्तपुरका किसानलाई यतिबेला हिउँदे मुख्य बाली गहुँ भित्र्याउने चटारो परेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि उपत्यकासँगै भक्तपुरमा पनि निषेधाज्ञा लागू गरिएको भएपनि खेतैभरि गहुँ पहेंलपुर भएर पाकेपछि किसान भने गहुँ काट्न व्यस्त भएका छन् ।
धानपछिको मुख्य बाली गहुँ समयमा नभित्र्याए अहिले पर्ने असिनापानीसहितको झरीले नास गर्ने भएकाले पनि किसानलाई गहुँ काट्ने, चुट्ने र थन्क्याउने चटारो परेको स्थानीय किसानहरुको भनाइ छ । निषेधाज्ञा र कोरोना भाइरस महामारीले नेवार समुदायको प्रमुख पर्वमध्येको एक दिगु पुजा (देवाली) समेत स्थगित गरी किसानहरु खेतका गह्रागह्रामा पुगेका छन् । “निषेधाज्ञा भएपनि अहिले पानी परे असिना पनि आउन सक्ने र पाकेको गहुँबाली नष्ट हुने चिन्ता हामीलाई छ,” छालिङका कृषक अनिल फोँजूले भन्नुभयो, “त्यसैले किसानहरु निषेधाज्ञाका बीच पनि गहुँ काट्न व्यस्त छन् ।”
यसवर्ष भक्तपुरमा ईंटाभट्टा सञ्चालन नहुँदा गहुँखेती वृद्धि भएको छ । कोरोना भाइरस महामारीका कारण गतवर्ष ईंटाभट्टा बन्द गरेका उद्योगी व्यवसायीहरुले यसवर्ष पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यान दिँदैं भट्टा सञ्चालन नगर्ने निर्णय गरेका थिए । सोही कारण विगतका वर्ष ईंटा पार्ने उर्बर जमीनमा यसवर्ष भने लहलह गहुँ झुलेको छ ।
ईंटाभट्टा सञ्चालन नभएकै कारण यसवर्ष छ रोपनीमा गहुँबाली लगाएको भक्तपुर नगरपालिका­५ का सुमन दुवालले बताउनुभयो । कोरोनाकै कारण दिगु पूजा स्थगित गरी सपरिवार चाँगुनारायण नगरपालिका–९, ताथलीमा गहुँ काट्दै गरेको अवस्थामा भेटिएका उहाँले भन्नुभयो, “कोरोनाका कारण ज्यामी राख्न जोखिम छ, त्यसैले सपरिवार भएर गहुँ काट्न आएका हौँ ।”
यसवर्ष भक्तपुरमा गहुँबालीको क्षेत्रफल वृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्याका कारण पनि यसवर्ष किसान थ्रेसरप्रति आकर्षित भएका छन् । थ्रेसरले गहुँ चुट्दा छ्वाली भने काम नलाग्ने हुने कृषक फोँजुले बताउनुभयो । गहुँको छ्वाली विशेषगरी घरको छानो हाल्न, चुलोमा आगो बाल्न समेत प्रयोग गरिन्छ ।
नेवार समुदायमा गठेंमंगललगायतका चाडपर्व र अन्य संस्कारमा समेत छ्वालीको प्रयोग हुने गर्दछ । “थ्रेसरमा गहुँको बोटैसँग राख्दा छ्वाली धुलो हुने र सो धूलो गाईवस्तुलाई सोत्तर राख्न मात्र काम लाग्छ । तर पनि छिटोछरितो हुने हुँदा किसानहरु थ्रेसरप्रति आकर्षित भएका छन्,” उहाँले भन्नुभयो । थ्रेसरले प्रतिमिनेट ६० रुपैंया भाडा लिने र एक रोपनी खेतको गहुँ ५ देखि १० मिनेटमा चुट्न सकिने उहाँले बताउनुभयो ।
भक्तपुरको मध्यपुर थिमि र भक्तपुर नगरपालिका क्षेत्रमा बढ्दो आवादीका कारण खेतीयोग्य जमीन घट्दै गएको छ । सोही कारण यी दुई नगरमा गहुँबाली नगन्य मात्रामा गरेको छ । जिल्लाको सूर्यविनायक नगरपालिकाको दधिकोट, सिरुटार, गुन्डु, सिपाडोल, चित्तपोल र नँखेल क्षेत्रमा गहुँ खेती गरिन्छ ।
यसवर्ष ईटाभट्टा सञ्चालन नभएका कारण चाँगुनारायण नगरपालिका क्षेत्रमा भने गहुँ उत्पादनमा पनि व्यापक वृद्धि भएको छ । यस नगरपालिकाको दुवाकोटमा गहुँखेतीमा केही कमी आएपनि छालिङ, बागेश्वरी, सुडाल र ताथलीमा गहुँखेती राम्रो भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology