• Tuesday 28th of July 2026

भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउन भक्तपुरका तीन अस्पताललाई आठ करोड


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ को दोश्रो लहरको महामारीमा भक्तपुरमा कोभिड सङ्क्रमितको उपचार गर्ने दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले रु. ८ करोड एक लाख ७० हजार बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना अन्र्तगत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क बनाउन सो रकम दिने भएको हो ।
भक्तपुर अस्पताललाई रु. तीन करोड ८० लाख, मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई रु. तीन करोड १२ लाख ७० हजार र सूर्यविनायक नगर अस्पताललाई रु. एक करोड नौ लाखको बजेट विनियोजन भएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो । अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्य पूर्वाधार विस्तार गर्न अर्थमन्त्रीलगायतसँग छलफल गरेर बजेट व्यवस्थापन गर्न सकिएको सांसद बस्नेतले बताउनुभयो ।
त्यसैगरी सांसद बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा आगामी १० दिनभित्र सूर्यविनायक नगरपालिका–८ जगातीमा सञ्चालनमा आउन लागेको ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा १५ शय्याको हाइ केयर युनिट (एचडियु) सञ्चालन गर्र्न सरकारले उक्त रकमको व्यवस्था गरेको हो ।
सरकारले बजेटको व्यवस्था गरे पनि आउन समय लाग्ने भएकाले बजेटको निकासा छिटो गरिदिन वा सोही बजेट बराबरको सामान तत्काल उपलब्ध गराइदिनुपर्ने अस्पतालहरुको माग छ । सङ्घीय सरकारले प्रदेश सरकार मार्फत बजेट पठाउने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology