• Sunday 26th of July 2026

गाउँघरमा रोपाइँ शुरु


  • गोकर्णेश्वर अनलाइन

जिल्लाका प्रमुख शहरलगायत ठाउँमा कोरोना कहरका कारण नागरिकमा त्रास कायमै रहे पनि यहाँका ग्रामीण क्षेत्रमा भने निर्बाध रुपमा धान रोपाइँ शुरु भएको छ । यहाँका गाउँघरमा अहिले रोपाइँ गर्नेको निकै भीड लाग्ने गरेको छ । कोरोना सङ्क्रमणलाई बेवास्ता गर्दै यहाँका गाउँघरमा रोपाइँले गर्दा चहल पहल पनि त्यत्तिकै मात्रमा बढेको स्थानीयवासी बताउँछन् ।

यस वर्ष जिल्लामा समयमै बर्सात भएको र यहाँका खोला नदी क्षेत्रमा पानी बढेका कारण रोपाइँ छिटो गर्नाका साथै सहज भएको बोगटान फुड्सिल गाउँपालिका–५ का खडकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीले खासै अरू काम पनि केही थिएन, समयमै बर्सात भएको छ, अनि रोपाइँ गर्न शुरु गरेका छौँ, कोरोनाको खासै चिन्ता छैन ।”

कोरोना महामारीका कारण जिल्लामा बन्दाबन्दी अर्थात् निषेधाज्ञा जारी भएपछि शहरी क्षेत्रमा प्रायः सुनसान भए पनि ग्रामीण भेगमा भने एक हप्तायतादेखि रोपाइँको चहलपहल शुरु भएको बताइएको छ ।

यहाँका पूर्वीचौकी, जोरायल, सायल, बोगटान फुड्सिल, बडिकेदार, आदर्श गाउँपालिका, दिपायल सिलगढी नगरपालिका तथा शिखर नगरपालिकाका विभिन्न ठाउँमा रोपाइँ शुरु भएको छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा चिनिँदै आएको असार महिना लाग्न अझै दुई हप्ता बाँकी रहँदासमेत यहाँका गाउँघरमा रोपाइँको चटारो शुरु भएको पूर्वीचौकी गाउँपालिका खिरसैनका कृष्णबहादुर खड्काले बताउनुभयो ।

कोरोना फैलिएपछि विदेश तथा अन्य ठाउँबाट सबै घरमै फर्किएकाले रोपाइँ गर्न सहज भएको किसानको भनाइ छ । वर्षाले समयमै रोपाइँ शुरु गर्न पाएपछि यहाँका कृषक हर्षित भएका छन् । बर्सातसँगै किसानले अन्य बाली मकै, कोदो, धान र अदुवासमेत लगाउन थालेका छन् ।

समयमै पानी परेका कारण वर्षभरि खाने खेती लगाउन पाउँदा किसानलाई कोरोनाको कुनै डर त्रास नरहेको बडिकेदार गाउँपालिका–१ का प्रकाशबहादुर कलेलले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology