• Monday 27th of July 2026

उपल्लो डोल्पामा किट अभाव, कोभिड लक्षणका बिरामीले थलिए


  • गोकर्णेश्वर अनलाइन

डोल्पा, २१ जेठ (रासस) : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

करिब एक महिनाअघिदेखि रुघाखोकी, ज्वरो र शरीर दुख्ने, खान मन नलाग्नेलगायतका लक्षणका बिरामी दिनप्रतिदिन बढ्दै गएको धो स्वास्थ्यचौकीमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी कार्मा साङ्मो थापा भोटेले जानकारी दिनुभयो । “कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी धोका अधिकांश घरमा छन्, एकै घरमा चार÷पाँच जनासम्म बिरामी परेका छन्, स्वास्थ्यचौकीमा भएको सिटामोल, एन्टिबायोटिकलगायत औषधि वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा करिब ५० हाराहारीमा बिरामी छन्, दिनप्रतिदिन रोग फैलिइरहेको छ, अलि पहिला बिरामी परेका व्यक्ति सञ्चो पनि भइरहेका छन् ।”

स्वास्थ्य संस्थासम्म आउन नसक्ने बिरामीका लागि कुनै सुरक्षाका मापदण्ड नअपनाएर सामान्य मास्कका भरमा औषधि बोकेर घरघरमा पुग्ने गरेको उहाँको भनाइ छ । बिरामी पर्ने बालबालिका, वृद्धवृदालगायतका सबै उमेर समूहका रहेको उहाँले बताउनुभयो । स्वास्थ्यचौकीमा भएका औषधि दैनिक वितरण भइरहेकाले थप मौज्दात औषधिको आवश्यक्ता रहेको उहाँको भनाइ छ । अधिकांश बिरामी घरमै निको भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकाअन्तर्गत पर्ने तिन्जेगाउँमा पनि कोभिड लक्षणका बिरामी बढेका छन् । गाउँमा २० देखि २५ हाराहारी कोभिड लक्षणका बिरामी रहेको तिन्जे स्वास्थ्यचौकीमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा इन्चार्ज छिरिङ थापाले जानकारी दिनुभयो । एक महिनादेखि बिरामी बढ्ने र सञ्चो हुने सङ्ख्या बराबर रहेको उहाँको भनाइ छ । “कोही बिरामी स्वास्थ्यचौकीमा आउँछन्, कोही आम्चीमा जाने गर्दछन्, कोभिड जाँच गर्ने कुनै पनि औषधि उपकरण नभएकाले समस्या भएको छ”, थापाले भन्नुभयो ।

गाउँपालिका शिल

गाउँपालिकामा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामीको चाप बढ्दै गएकाले बाहिरका प्रवेशमा प्रतिबन्ध लगाइएको छ । एक सूचना जारी गर्दै २१ जेठ राति १२ बजेदेखि ५ असारसम्म बाहिरका मान्छे प्रवेशमा रोक लगाइएको हो । गाउँपालिकामा प्रवेश गर्न एन्टिजेन वा पिसिआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै तोकिएका जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गरेर जान पाउने व्यवस्था गरिएको छ । घरघरमा बिरामी बढेपछि गाउँपालिकाले औषधि व्यवस्थापनमा जोड दिएको छ ।

धोमा सर्वसाधारण बिरामी परेको खबर प्राप्त भएकाले सदरमुकाम दुनैस्थित सम्पर्क कार्यालयमा रहेका कर्मचारीको टोली केही दिनभित्रै औषधि उपकरणसहित गाउँपालिकातर्फ हिँड्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो ।

शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामी

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामीको चाप बढेको छ । गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ, रिग्मो, पुग्मोलगायतका गाउँमा बिरामी बढेका हुन् । कोेभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा बिरामी बढेसँगै जनप्रतिनिधिले बाहिरका मान्छे प्रवेशमा कडाइ गरेका छन् ।

नेपालकै गहिरो ताल फोक्सुण्डो जान आन्तरिक तथा बाह्य पर्यटक सबैलाई पिसिआर वा एन्टिजेन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर राख्दै नेगेटिभ रिपोर्टबिनाका जोकोहीलाई प्रवेशमा रोक लगाइएको फोक्सुण्डोका वडाध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

हेलिकोप्टरबाट औषधि लैजाने तयारी

कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि शे–फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकोप्टरमा औषधि पठाउने तयारी थालेको छ । नागरिक जोगाउनका लागि काठमाडौँबाट सिधै अत्यावश्यक औषधि तथा उपकरण हेलिकोप्टरमा लैजाने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाको विभिन्न बस्तीमा नागरिक बिरामी परेको खबर आएकाले छिटोछरितो औषधि उपकरण पठाउन हेलिकोप्टर कम्पनीसँग कुरा भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology