• Monday 27th of July 2026

दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा आएनन् आइसियु र भेन्टिलेटर


  • गोकर्णेश्वर अनलाइन

कालीकोट सदरमुकाम मान्ममा सञ्चालन गरिएको कोभिड–१९ विशेष अस्पतालमा स्थापना गरिएका सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका छन् । दक्ष जनशक्तिको अभावमा सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन भएका हुन् ।

कोरोना महामारीको पहिलो चरण गत आर्थिक वर्षको भदौ महिनामा स्थापना गरिएको सघन उपचार कक्ष र भेन्टिलेटर चलाउन सक्ने दक्ष जनशक्ति नभएका कारणले सञ्चालनमा आउन सकेका छैनन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा स्थापना गरिएका दुई सघन उपचार कक्ष र एक भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन् ।

जिल्लामा नै सघन उपचार कक्ष र भेन्टिलेटर भए पनि कोरोनाका जटिल बिरामीलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक इन्टरनल मेडिसिन र बेहोस बनाउने चिकित्सक (एनएस्थिसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताउनुभयो ।

जिल्लामा विद्युत्को नियमित आपूर्ति नहुँदा पनि सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या भएको निमित्त प्रमुख महतले जानकारी दिनुभयो । “सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याउन केही समय अझै लाग्ने देखिएको छ”, उहाँले भन्नुभयो, “जनशक्तिको व्यवस्थापनसँगै विद्युत्को वैकल्पिक माध्यम खोजेर सञ्चालनमा ल्याउने छौैँ ।”

कालीकोटमा हालसम्म सात हजार ६२२ मा कोरोना परीक्षण गर्दा एक हजार ३४१ जनामा पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यसमध्ये एक हजार २३ जना निको भएर डिस्चार्ज भएका र ३१५ जनाको विभिन्न आइसोलेशनमा उपचार भइरहेको तथा तीनजनाको हालसम्म मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology