• Monday 27th of July 2026

प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको छ : देउवा


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताउनुभएको छ । विपक्षी गठबन्धनले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको आजको अन्तरक्रियामा उहाँले प्रतिनिधिसभाका बहुमत १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार आफूहरुले प्रधानमन्त्रीका लागि दाबीसहित पेश गरेको आवेदन अस्वीकार गर्नु लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको टिप्पणी गर्नुभयो ।
सो अवसरमा सभापति देउवाले राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसद्को रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलको संयुक्त मोर्चा बनेको अवगत गराउनुभयो । सरकारबाट भएका कतिपय कार्य र निर्णय अदालतबाट रोकिएको जनाउँदै पूर्वप्रधानमन्त्रीले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई आफूहरुले साझा गन्तव्यका रुपमा लिएको बताउनुभयो ।
आवश्यक परेमा जनपरिचालनको दिशातर्फसमेत अगाडि बढ्ने उहाँले बताउनुभयो । सभापति देउवाले नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै मुलुकका बारेमा नेपालीले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्ने मान्यता स्पष्ट गर्नुभयो ।
सरकारबाट दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गर्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायत राज्य संयन्त्रमाथि हस्तक्षेप गर्ने, कोरोनाविरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि प्रभावकारी पूर्व तयारी नगर्ने काम भएको सभापति देउवाको आरोप थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology