• Sunday 26th of July 2026

उदयपुरमा आँपको उत्पादन घट्यो, मूल्यमा वृद्धि


  • गोकर्णेश्वर अनलाइन

उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकासिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैन ।

आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । विगतमा आँपको मौसम शुरु भएपछि स्थानीय बजारमा प्रतिकिलो आँपको मूल्य रु २० देखि ३० पर्नेमा यस वर्ष रु ७० देखि एक सयसम्म रहेको छ । आँपको मौसम शुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।

“उत्पादनमा कमी आएकै कारण बजारमा आँपको मूल्य महँगो भएको हो”, त्रियुगा नगरपालका—११ का धनबहादुर खत्रीले भन्नुभयो”, “विगतका वर्षमा असारको मध्यतिर बढीमा प्रतिकिलो रु ३० मा किनेर खाने गरेको आँप अहिले रु ७० भन्दा बढी पर्ने गरेको छ ।” आँपका थोक बिक्रेताले किसानबाट सयकडाका दरमा खरिद गरी किलोग्राममा बिक्री गर्दा किसानले भने सोचेजति आम्दानी लिन पाएका छैनन् । त्रियुगा नगरपालिका—१ जोगिदहका किसान धनीकलाल चौधरीले व्यापारीले तौलेर नलिईकन गोटाको सयकडा रु ८ सयका दरले खरिद गर्ने गरेकाले आफूहरूले आम्दानी लिन नपाएको दुःखेसो पोख्नुभयो । सीमित मात्रामा बजारमा आएकाले व्यापारीले सयकडाको दरले आँपको बिक्री गर्न मानेका छैनन् । स्थानीय व्यापारी कृष्णदेव साहका अनुसार मालदह आँप प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ । गत वर्ष स्थानीय बजारमा प्रतिकिला रु ३० देखि ४० सम्म बिक्री भएको थियो । यस वर्ष बजारमा आँप कम आएकाले मूल्यमा केही उतारचढाव आएको उहाँको भनाइ छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, आम्बासी, भागलपुर, चौदण्डी गढी नगरपालिकाको हँडिया,सुन्दपुर क्षेत्र, त्रियुगा नगरपालिकाको जोगिदह, बगाहा, श्रीपुर, राजाबास, लक्ष्मीपुर, साउने, खाँबु, कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, उदयपुर गढी गाउँपालिकाको दनुवारबेसी, नेपालटार ,भलायाडाँडा क्षेत्र आँप जोनको रुपमा रहेको केन्द्र कृषि प्राविधिक अधिकृत अम्बीका भट्टराईले जानकारी दिनुभयो ।

यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पुर्याएपछि आँपको उत्पादन घटेको उहाँको भनाइ छ । आँपको उत्पादन घटेसँगै उदयपुरमा आँपको मूल्यमा पनि वृद्धि भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology