• Sunday 26th of July 2026

प्रांगारिक उत्पादनमा किसान जुट्दै


  • गोकर्णेश्वर अनलाइन

—युवराज विष्ट
भोजपुरका किसान अर्गानिक तरकारी उत्पादनमा लागेका छन् । विषादीरहित तरकारीको माग बढेसँगै कृषकले अर्गानिक तरकारी खेती गर्न थालेका हुन् ।

विषादीको प्रयोगले गर्भवती महिला, बालबालिकासँगै मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने स्वस्थ्यकर्मीले सुझाएपछि यहाँका किसान अर्गानिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारले अर्गानिक खेतीको थालनी गरेका छन् ।

स्याउला तथा गाईगोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन थालेको स्थानीय कृषक शान्तीकुमार कार्कीले बताउनुभयो । यसरी लगाएको तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाईगोरु तथा पशुको मूत्रलाई विषादीको रूपमा प्रयोग गर्ने गर्छन् । कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीमा हाल्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘हामीले २१ वटा आधुनिक टनेल निर्माण गरेर अर्गानिक खेती थालेका छौँ । कृषि ज्ञान केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग मिलेको छ । बजारमा देखिएको अर्गानिक तरकारीको मागलाई पूरा गर्ने गरी खेती गरेका छौँ ।’’

मानवीय स्वास्थ्यमा कुनै असर नपार्ने भएकाले उनीहरु आलु, टमाटर, मुलालगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका छन् । उत्पादन बढाउन कम्पोस्ट र प्राङ्गारिक मलको प्रयोग बढ्दै गएको कृषकहरू बताउँछन् । तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्राङगारिक खेती प्रर्वद्धन अभियान कार्यक्रमअन्तर्गत तरकारी खेतीको थालनी गरिएको बताइएको छ । विषादीरहित तरकारीको बजार माग पनि बढिरहेको र यसले मानवीय स्वास्थ्यलाई फाइदा पुग्नका साथै मूल्य पनि राम्रो पाइने यहाँको किसानको भनाइ छ । घरगोठमा निर्माण भएको मलको प्रयोग गरी तरकारी खेती गर्नेको सङ्ख्या पनि क्रमशः बढ्न थालेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

रु. दश लाखको लागतमा दुई वटा कलस्टर बनाएर प्याउली र सिमटारको कृषक समूहमा परीक्षणको रुपमा अर्गानिक खेतीको थालनी गरिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुर्याइरहेकाले अर्गानिक तरकारी उत्पादनलाई प्राथमिकतामा राखेको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादबले भन्नुभयो, ‘‘हामीले किसानलाई आधुनिक कृषि प्रणालीमा जोडिरहेका छौँ । अर्गानिक खेतीलाई प्रवद्र्धन गर्नका लागि जिल्लामा पहिलो पटक कार्यालय र किसानको साझेदारीमा खेतीको थालनी गरेका छौँ । यसले बजारमा रहेको अर्गानिक खाद्यबालीको मागलाई केही हदसम्म पूरा गर्नेमा हामी ढुक्क छौँ ।’’
कृषि उपकरण वितरण
केन्द्रले अनुदानमा कृषकलाई १३५ वटा हाते ट्याक्टर (मिनिटिलर) वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा कृषकलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
माग गरेको आवेदनका आधारमा जिल्लाका नौ वटै स्थानीय तहका कृषकलाई उक्त ट्याक्टर वितरण गरिएको कार्यालयले जनाएको छ ।

अनुदानमा हाते ट्याक्टर पाएपछि यहाँका कृषक खुशी भएका छन् । स्थानीय कृषक सुरेश अधिकारीले भन्नभयो, ‘‘कार्यालयको ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर पाउँदा खुशी लागेको छ । कृषि उपकरणको सहायताले कम लागतमा बढी उत्पादन हुनेमा हामी आशावादी छौं ।’’ अधिकांश युवा रोजगारीका क्रममा गाउँबाट हिडेकाले कामदार समस्या छ । “गाउँघरमा गोरु र हली पाउन गाह्रो भएको छ”, उहाँले भन्नुभयो, “हाते ट्याक्टर अनुदानमा पाएपछि समस्या हटेको छ ।” गोरु र हली पाइहाले पनि महँगो ज्याला दिनुपथ्र्यो भन्दै उहाँले यसको प्रयोगले थोरै जनशक्तिले धेरै काम गर्न सकिने बताउनुभयो । यसको बजार मूल्य रु ८० देखि ९० हजार पर्छ । केन्द्रले किसानसँग २५ प्रतिशत रकम लिई अनुदानमा वितरण गरेको हो । यसले एक लिटर डिजेलबाट तीन घण्टासम्म खेत र बारी जोत्न सक्ने केन्द्रले जनाएको छ ।

गोरुले जोत्दा लागत बढ्न थालेपछि पछिल्लो समय यसको माग बढ्दै गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology