• Monday 27th of July 2026

‘कोरोनाको तेस्रो लहरको जोखिमको आकलन गरेर पूर्वतयारी थालिएको छ’ -मन्त्री बस्नेत


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतीकरण गर्दै उहाँले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरुप अस्पताललाई २० प्रतिशत बेड छुट्याएर राख्नका लागि निर्देशन दिइएको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले ठोस योजना निर्माण गरेर महामारीको नियन्त्रण तथा उपचारलाई निरन्तरता दिँदै खोप कार्यक्रमलाई सशक्त पारिने बताउनुभयो । हामी सबैको लक्ष्य खोप भएकाले सरकारले प्रदेशभरका नागरिकलाई खोप लगाउनका लागि रु दुई अर्ब बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।

प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको जनाउँदै उहाँले प्रदेश सरकारले सोझै खरीद गर्ने व्यवस्था बने सोझै नभए सङ्घीय सरकारसँग सहकार्य गरेर प्रदेशका खोपका लागि उमेर पुगेका सबै नागरिकलाई खोप लगाइने बताउनुभयो ।

उहाँले धादिङ अस्पतालको भवन, त्रिशूली अस्पताल नुवाकोटको आवास गृह निर्माण गरिएको, प्रदेश मातहतका जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, त्रिशूली अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताल, सिन्धुली अस्पताल र चरिकोट अस्पतालबाट नियमितरुपमा पिसिआर परीक्षण सेवा सञ्चालन भइरहेको, आठवटै अस्पतालबाट कोभिडको उपचारका लागि आइसोलेशन तथा त्रिशूली, भक्तपुर, हेटौँडा, धादिङ र सिन्धुली अस्पतालबाट आइसियु तथा एडियु सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो ।

साथै स्वास्थ्य कार्यालयहरूबाट रोकथाम र नियन्त्रणका कार्य भइरहेको उहाँले बताउनुभयो । सिन्धुली अस्पताल, हेटौँडा अस्पताल, धादिङ् अस्पताल र त्रिशूली अस्पतालमा अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा रहेका तथा बाँकी जिल्लामा जडान गर्न खरीदको अन्तिम चरणमा रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology