• Monday 27th of July 2026

एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) को आजको स्थायी कमिटीले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा गठित कार्यदलले गत असार २७ गते आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति अनुमोदन गर्दै कार्यन्वयन गर्ने निर्णय गरेको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यान्वयन गर्ने जानकारी दिनुभयो । बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदलसमेत भङ्ग गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा रहेको सरकारले देश विकासमा ऐतिहासिक कार्य गरेको निर्णय गरेको छ ।

बैठकले पार्टी अध्यक्ष ओलीले संविधान कार्यन्वयन, राष्ट्रियताको सम्बद्र्धन गर्ने, मुुलुकको आर्थिक र सामाजिक रुपान्तरण गर्ने, दिगो शान्तिको स्थापना गर्ने, पुनःनिर्माण सम्पन्न गर्ने, समृद्ध नेपाल र सुखी नेपाली अभियानमार्फत मुलुकलाई अगाडि बढाउने काम गरेको निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिनुभयो ।

एमाले देशप्रति जिम्मेवार, संविधान र लोकतन्त्रको रक्षक एवं जनताको हितप्रति अटल रहँदै सक्रिय तथा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको पार्टी प्रवक्ता ज्ञवालीले बताउनुभयो । पार्टीका प्रवक्ता ज्ञवालीले एमाले सशक्त प्रतिपक्षमा बस्ने र पार्टीका सांसदलाई सोही भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।

“सरकारलाई पार्टीको समर्थन नरहने र सरकारले विश्वासको मतसमेत नदिने निर्णय छौँ”, उहाँले भन्नुभयो, “पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यलाई वर्तमान सरकारलाई विश्वासका नदिने पार्टीको निर्णय पालना गर्न निर्देशन दिएका छाँै ।”

उहाँले सधौभरी नै पार्टी बैठक रोक्न नसक्ने भएपछि आजको बैठक शुरु गरिएको बताउनुभयो । “भीम रावल कमरेडले बैठक रोक्नु भनेपछि हामीले यसअघिका बैठक रोकेका हौं”, उहाँले भन्नुभयो, “कार्यदलका निर्णय पार्र्टीले कार्यान्वयन गर्दछ, तर सधै बैठक रोक्न सकिँदैन, पार्टी गतिविधि र लयमा अगाडि बढ्दै जान्छ ।”

वरिष्ठ नेता नेपाल पक्षका कार्यदलमा रहेका नेताले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरे पनि बैठकले औपचारिक कार्यसूची अघि बढाएको छ । नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल, सदस्य धनश्याम भुसाल, गोकर्णराज विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बैठक रोक्न माग गर्दै बैठकस्थल पुग्नुभएको थियो ।

बैठक चलिरहेका बेला उहाँहरु प्रवेश गरी सहमतिमा बैठक राख्न माग गरेर बाहिरिनुभएको थियो । सो सहमतिअनुसार पार्टीको संरचना २०७५ जेठ २ को अवस्थामा फर्कने छ भने नेकपा (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापालगायतलाई स्वागत गरिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो बैठक एमालेको स्थायी कमिटीको बैठक बसेको हो । नेता नेपाल पक्षका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुभएको थियो । एमाले संसदीय दलको बैठक अहिले बस्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology