• Sunday 26th of July 2026

पाल्पामा बेमौसमी आलु खेती


  • गोकर्णेश्वर अनलाइन

पाल्पामा बेमौसमी आलुखेती शुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो । न्यूनतम २० रोपनी क्लस्टरमा सहयोग गर्ने प्रावधानअनुरुप समुन्द्री सतहदेखि एक हजार ४०० देखि दुई हजार मिटर उचाइमा उत्पादन हुने बेमौसमी आलुका निम्ति क्षेत्र छनोट गरी सहयोग गरेको केन्द्रको प्रमुख शिव अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिउँदमा उमे्रको आलुको टुसालाई उपचार विधिमार्फत तयार पारिएको बीउ नै वर्षातका समयमा रोपिने गरिन्छ ।

जिल्लाको निस्दी र माथागढी गाउँपालिकामा ज्ञान केन्द्रले कृषि सामग्री तथा आर्थिक सहयोग गरेको छ । जिल्लाको रैनादेवी छहरामा भने गाउँपालिकाले आलु पकेट क्षेत्रका रुपमा विकास गर्न बेमौसमी आलु खेती थालिएको उहाँले जानकारी दिनुभयो ।

निस्दीमा मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा खेती थालिएको हो । स्थानीय ३० कृषकले ३० रोपनी जग्गामा एक हजार ६०० केजी आलुको बीउ रोपेको संस्थाका व्यवस्थापक हेमबहादुर खाम्चाले बताउनुभयो । उहाँका अनुसार कृषि ज्ञान केन्द्र पाल्पाको रु एक लाख तथा सहकारी संस्थाको रु एक लाख गरी रु दुई लाखको लगानीमा खेती शुरु गरिएको हो । वडा नं ४ लाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले बेमौसमी आलु खेती गर्न थालिएको कृषकहरु बताउँछन् ।

मित्यालको झ्याल्टुङ्, रुप्सेभन्ज्याङ, काफल, भोर्मा र खोप्लाक क्षेत्रमा कृषकले आलु खेती गरेको निस्दी कृषि शाखा संयोजक खिमराज कोइरालाको भनाइ छ । ज्ञान केन्द्रले वर्षायाममा आलु खेतीका लागि उपर्युक्त स्थान छनोट गरी निस्दीमा आलु लगाउन सुझाव दिए पनि कोरोनाको सङ्क्रमण नियन्त्रणका निम्ति भएको निषेधाज्ञाले बीउ खरीद गरेर गाउँसम्म ल्याउन निकै समस्या भएको संस्थाले जनाएको छ । डडेल्धुरादेखि कार्डिनल जातको रातो आलु खरीद गरेर निकै कष्टसँग ल्याएर रोप्दा समयमै आलु लगाउन नपाएको व्यवस्थापक खाम्चाले बताउनुभयो । उहाँका अनुसार जेठ महिनामै लगाउने आलु असारमा मात्रै रोपे पनि राम्रोसँग उम्रिएको र राम्रै उत्पादन हुने अपेक्षा गरिएको छ ।

त्यस्तै जिल्लाको माथागढी गाउँपालिकामा पनि ज्ञान केन्द्रको आर्थिक सहयोग तथा कौडेलेक व्यावसायिक कृषक समूहको व्यवस्थापनमा करीब ४० रोपनी जग्गामा ४० क्विन्टल आलु रोपिएको सो केन्द्रले जनाएको छ । माथागढी गाउँपालिकाको ओलेसमा रोपिएको वर्षे आलुबाट राम्रो उत्पादन भएको समूहका अध्यक्ष अर्केश्वर सारुले बताउनुभयो । माथागढीमा भने चैतमा नै आलु लगाए पनि समयमा पानी नपरेर समस्या भएको कृषकले जनाएका छन् ।

उहाँले भन्नुभयो, “समयमा पानी नपरेर समस्या भयो, उत्पादन भने तेब्बर लिन सफल भइयो ।” माथागढीमा करीब ३२ कृषकले बेमौसमी आलु खेती गरेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा भने सङ्घीय सरकार तथा कृषि शाखाको सहयोगमा आलु पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । कृषि शाखाप्रमुख सुनिता पोखरेलले गाउँपालिकाको चार स्थानमा गहुँ तथा आलु पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाअनुरुप पालिकाको वडा नं ४ मेहलढाँपमा बेमौसमी आलु खेती गरिएको जानकारी दिनुभयो ।

पालिकाको वडा नं ४ भुवनपोखरी र ७ को बल्डेङगढीमा गहँु, ८ सत्यवतीमा हिउँदेआलु तथा ४ मा बर्खेआलु गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकलाई सहयोग गरिएको करीब ६५ क्विन्टल आलु कृषकले लगाएका छन् । स्थानीय आलु पकेट कृषक समूहले करीब ८० रोपनी क्षेत्रफलमा बेमौसमी आलु खेती गरेको छ । वर्षातको समयमा पनि चिलाउनी, तीतेपाती, असुरोको छापो तथा प्लाष्टिक मल्चिङको प्रयोगबाट राम्रो उत्पादन लिन सकिने विभिन्न कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology