• Sunday 26th of July 2026

झापाका कृषकलाई दुई करोड अनुदान


  • गोकर्णेश्वर अनलाइन

कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका कृषकलाई करिब रु दुई करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई रु एक करोड ९९ लाख ५४ हजार ९०० अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिनुभयो ।

मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच पालिकाका किसानलाई रु दुई लाख ५० हजार, कागती खेतीमा सात पालिकाका १२ फार्मलाई रु २१ लाख २३ हजार ३००, व्यावसायिक फलफूल बगैँचा स्थापनार्थ चार पालिकाका पाँच फार्मलाई रु नौ लाख एक हजार १०० अनुदान उपलब्ध गराइएको छ ।

त्यस्तै बीउबिजन आत्मनिर्भर कार्यक्रमअन्तर्गत तीन पालिकाका चार फार्मलाई रु तीन लाख ९६ हजार ८००, बगरखेती प्रवद्र्धनका लागि छ पालिकाका १० फार्मलाई १० लाख एक हजार, जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमअन्तर्गत छ पालिकाका फार्मलाई रु छ लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमअन्तर्गत आठ पालिकाका १० फार्मलाई रु १० लाख अनुदान दिइएको कृषि अर्थविज्ञ भट्टराईले बताउनुभयो ।

कृषि हाटबजार तथा सङ्कलन केन्द्र निर्माण गर्न तीन पालिका र एक सहकारी संस्थालाई रु ४० लाख अनुदान उपलब्ध गराइएको छ । गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र टागनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थालाई रु १०÷१० लाखका दरले दिइएको कार्यालयले जनाएको छ ।

रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मेचीनगर–१० की रुपा पौडेललाई रु एक लाख दिइएको छ । नमूना कृषि फार्म स्थापनाका लागि आठ पालिकाका १० फार्मलाई रु २६ लाख ६९ लाख ३०० र कृषि यान्त्रिकीकरण, औजार खरिदका लागि ८२ व्यक्ति÷समूहलाई रु ७० लाख १३ हजार ४०० अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ । कार्यालयले न्यूनतम रु १८ हजार ७०० देखि अधिकतम रु एक लाख २७ हजार ७०० अनुदान दिइएको बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology