• Monday 27th of July 2026

आयोग विघटन गर्ने निर्णय सच्चाउन एमालेको माग


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)ले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै आयोग विघटन गरी जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब सच्याउन माग गर्नुभएको हो ।

विज्ञप्तिमा उहाँले भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीका हक र हितप्रति एमाले सधैँभरि सजग र संवेदनशील रहेको उल्लेख गर्दै भूमिहीन, सुकुम्बासीका जायज माग तथा आवाजप्रति पार्टीको सधँै ऐक्यबद्धता रहनेसमेत स्पष्ट पार्नुभएको छ ।

सरकारले मङ्गलबार आयोग खारेज गर्ने निर्णय गरेको थियो । “युगान्तकारी राजनीतिक परिवर्तनको लाभ आर्थिक र सामाजिक रुपले विपन्न वर्गले पाउनसकेमा मात्रै परिवर्तनप्रति उनीहरुको अपनत्व विकास हुनसक्छ र त्यसले मात्रै परिवर्तनले सार्थकता पाउन सक्छ”, विज्ञप्तिमा भनिएको छ, “सरकारको यस निर्णयले विपन्न वर्गका अपेक्षामाथि ठूलो आँच पु¥याएको छ ।”

भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन पूरा भएर वर्षौंदेखि जारी यस समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेका बेला आयोग विघटन गर्ने सरकारको निर्णयले मुुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीको जमीनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात भएको विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानले परिकल्पना गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्यायलाई प्रत्याभूत गर्न तथा संविधानले सुनिश्चित गरेका खाद्यसम्बन्धी हक (धारा ३६), आवासको हक (धारा ३७), दलितको हक (धारा ४०), सामाजिक न्यायको हक (धारा ४२) लगायत राज्यका निर्देशक सिद्धान्त तथा नीतिको कार्यान्वयन गर्न भूमिसम्बन्धी ऐन (आठौं संशोधन) को व्यवस्था अनुुसार भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

करीब एक वर्षअघि गठन गरिएको उक्त आयोगको ७७ जिल्लामा जिल्लास्तरिय समिति गठन गरिएको थियो । आयोगले अहिलेसम्म दुई लाख ४७ हजार ९६० दलित र सुकुम्बासी तथा नौ लाख २२ हजार ८०१ अव्यवस्थित बसोबासीले विवरण फारम भरिसकेको एमालेले जनाएको छ । तीन सय १९ भन्दा बढी पालिकामा लगत सङ्कलन गरिएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology