• Monday 27th of July 2026

नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा थप गम्भीर बन्न गृहमन्त्री खाँणको निर्देशन


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना गर्दै नागरिकको जीवन रक्षा पहिलो शर्त भएको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आज आयोजित भर्चुअल कार्यक्रममार्फत उहाँले सरकार र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, सबल र प्रगाढ बनाइ नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा गम्भीर हुन प्रहरी अधिकृत तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो ।

मन्त्री खाँणले आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्नुहुँदै हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न पनि प्रहरीलाई निर्देशन दिनुभयो । सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नवीन भूमिका एवं दायित्वका लागि नेपाल सरकार सकारात्मक रहेको बताउनुहुँदै उहाँले सामाजिक दायित्वको रुपमा आउने बहुआयामिक समस्यालाई सम्बोधन गर्न नेपाल प्रहरी सदैब पहिलो पङ्क्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको स्मरण गर्नुभयो ।

गृहमन्त्री खाँणले कोभिड–१९ सङ्क्रमण नियन्त्रण एवं रोकथामका लागि नेपाल प्रहरीले सञ्चालन गरेको अभियानको सराहना पनि गर्नुभयो । उहाँले मुलुकको शान्ति सुव्यवस्थामा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी कर्मचारीको क्षमताको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री खाँणले आज प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गरी त्यहाँको गतिविधिबारे जानकारी लिनुभएको थियो ।

सो अवसरमा गृहसचिव टेकनारायण पाण्डेले विभिन्न अप्ठ्यारा परिस्थितिको सामना गर्दै आफ्नो कर्तव्य पालनामार्फत नागरिकको सुरक्षा र राष्ट्रको समृद्धिमा प्रहरी सदैब दृढ संकल्पित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरी सङ्गठनलाई अझ व्यावसायिक, पेशागत, स्रोत साधनयुक्त, प्रविधियुक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठनलाई थप व्यावसायिक र उर्जावान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मूलभूत दायित्व रहेको बताउँदै कालोबजारी नियन्त्रण तथा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी सदैब कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology