• Monday 27th of July 2026

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ–अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्र्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताउनुभयो । उहाँले भन्नुभयो,“आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुङग््याउनुपर्छ भनेका छौँं । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने वित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ ।”

उहाँले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“ पहिले ल्याएका अध्यादेश लोकतन्त्र र संविधान सिध्याउने उद्देश्यले ल्याइएका थिए, अहिलेको अध्यादेश लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षाका लागि ल्याइएको हो ।”
अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले माक्र्सवादबारे तीन थरी दृष्टिकोण देखिएको भन्दै पहिलोले माक्र्सवादको यान्त्रिकिकरण गरेर सोच्ने जडसुत्रवादी प्रवृत्ति, दोस्रोले माक्र्सवादलाई त्याग्न खोज्ने वर्ग सङ्घर्ष होइन वर्गसमन्वयकोे प्रवृत्ति र तेस्रो चलायमान देखिएको मध्यपन्थी प्रवृित्त रहेको टिप्पणी गर्नुभयो ।

अबको माक्र्सवादबारे रचनात्मक, सिर्जनात्मक ढङ्गले विचार, विमर्श गरेर नयाँ विश्लेषण निकाल्न आवश्यक रहेकोमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो ।

कार्यक्रममा सङ्घीय समाजजादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुँजीवाद दिगो हुुनसक्दैन भन्नेमा विश्वमै आम सहमति बनिसकेको बताउँदै तर विकल्प कस्तो समाजवाद भन्ने बहस जारी रहेको बताउनुभयो ।

उहाँले पुँजीवादसँगै अहिले प्रयोगमा रहेको पुरानो समाजवादको प्रयोग पनि असफल भएको टिप्पणी गर्दै समाजवादको नयाँ स्परुपबारे पर्याप्त बहस र छलफल आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बामदेव क्षेत्री घिमिरेले लेख्नुभएको ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन अतिथिद्वय प्रचण्ड र डा भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology