• Saturday 25th of July 2026

वन्यजन्तुबाट बाली जोगाउन माग


  • गोकर्णेश्वर अनलाइन

काभ्रेपलाञ्चोक, ६ भदौ (रासस) : पनौती नगरपालिका–१ ओखरबोटका किसान कान्छी सापकोटाको पाँच रोपनी बारीको मकै बँदेलले नष्ट गरिदियो । मकै सखाप पारेपछि हातमुख जोर्ने चिन्ताले उहाँलाई सताएको छ । “पाक्न लागेको सबै मकै बँदेलले एकै रातमा खाएर र बोट भाँचिदिएर सखाप पारिदियो, अब त हातमुख जोर्न धौधौ पर्छ” सापकोटाको गुनासो थियो ।

उहाँको मात्र होइन, गाउँका नानीराम सापकोटालगायत अधिकांशका बारीको मकै खसाप भएको छ । कान्छीले भन्नुभयो, “वन नजिकै रहेका सबै बारीका मकै बँदेलले नष्ट गरेको छ, जङ्गली जनावरका कारण बाली जोगाउन निकै मुस्किल भएको छ ।” उहाँका अनुसार जोगिएको बाली बचाउन गाउँले प्रयासरत रहेपनि बँदेलले आक्रमण गर्ने भएकाले कोही पनि बारीमा पस्न सकेका छैनन् ।

अहिले वडा नं १, २, ३ र ५का बासिन्दाले वन्यजन्तुबाट भएको क्षति व्यहोर्नुपरेको छ । “बँदेलले दिउसै पनि मकै खाइदिएको छ” नं वडा ५की बिमला तिमल्सिनाले भन्नुभयो । “बेथानचोक गाउँपालिकाको सबै क्षेत्रमा बँदेल र दुम्सीले बालीमा क्षति पु-याएको छ,” स्थानीय कृषक नवराज तिमल्सनाले बताउनुभयो, “ केही स्थानका किसान अन्नबाली जोगाउन रातभर आलोपालो कुरुवा बस्न थालेका छन् ।”

गत साउनको अन्तिम साता मण्डनदेउपुर नपा–१ नगरकोटस्थित हलेदेमा बँदेलले सयौँ रोपनी बारीको मकै सखाप पारेकाले जोगाउन रातभर आलोपालो कुरुवा बस्नुपरेको त्यहाँका बासिन्दाले बताए ।

पीडित किसानले बँदेल नियन्त्रणका लागि नगरपालिका जिल्ला प्रशासन कार्यालय र वन कार्यालयमा जानकारी गराउनाका साथै बाली जोगाउन पनि माग गरेका छन् । नगर उपप्रमुख निर्मला शाहीले स्थानीयवासीलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको र वन्यजन्तुको अतिक्रमण रोक्नका लागि सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, गतसाल पनि सोही नगरको ८ र ९ वडा बाहेक सबै स्थानको बालीमा बाँदरले क्षति पु¥याएकामा अहिले नमोबुद्ध नगरपालिकाका साथै तेमाल, रोशी, भुम्ल र चौंरीदेउराली गाउँपालिकाको बालीमा वन्यजन्तुले क्षति पु¥याएकाले जोगाउनका लागि स्थानीयवासीले जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन् । विगत तीन वर्षदेखि यस्तो क्षति व्यहोर्दै आएका यहाँका किसान बेला बखत हिंस्रक जङ्गली जनावरको आक्रमणमा पनि पर्दै आएका छन् ।

डिभिजन वन कार्यालयका अधिकृत देवीचन्द्र पोखरेलले जिल्लाका अधिकांश वनमा आवश्यकभन्दा बढी बँदेल भइसकेकाले किसान र वन्यजन्तुबीच द्वन्द्व बढ्ने गरेको बताउनुभयो । “वन्यजन्तुलाई सीमित गर्न नीतिमै परिवर्तन नभएसम्म तिनको अतिक्रमण न्यूनीकरण गर्न सकिन्न” उहाँले भन्नुभयो, “कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए पनि प्रावधानअनसार क्षतिपूर्ति दिने काम भने भइरहेको छ । ”

कार्यालयका अनुसार १२ वर्षयता जिल्लामा जङ्गली जनावरको आक्रमणबाट १४को मृत्यु र पाँच घाइते भएका थिए । गत आर्थिक वर्षमा १४१ जनालाई अन्नबाली र चौपायामा पुगेको क्षतिबापत रू १३ लाख बराबरको राहत उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology