• Monday 27th of July 2026

२० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा उहाँले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले सरकारी अस्पतालहरुलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिनुभयो । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्लीगल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समस्या के हो जानकारी दिनुहोस् पाँच÷दश करोड बजेटको समस्या हुँदैन ।”

उहाँले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शत्प्रतिशत जनसङ्ख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसङ्ख्यालाई करिब पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो । त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नु परेको छ ।” सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उहाँले केही दिनमा पीसीआर र एन्टिजेन परीक्षणलाई पूर्ण रुपमा निःशुल्क गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब दुई गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएकामा सो हुन नहुने धारणा व्यक्त गर्नुभयो ।

भरतपुर अस्पतालका शैक्षिक कार्यक्रम संयोजक प्राडा कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने बताउनुभयो । उहाँले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटौँडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाइमा पु¥याउन अस्पतालबाट सेवाहरू अन्यत्र सार्ने नभई अन्यत्रबाट ल्याएर भए पनि थप गर्नुपर्ने बताउनुभयो ।

भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा भोजराज अधिकारीले आफूहरू अस्पतालका लागि चाहिने सेवा तथा सामग्रीहरू माग्न मन्त्रालय जाँदा कहाँ र कसलाई भेट्ने हो भन्ने विषयमा अन्योल हुने गरेको गुनासो गर्नुभयो । उहाँले चिकित्सक आवास र प्रसूति भवन बनाउन र अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि ढल निकासी तथा स्वच्छ खानेपानीको व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology