• Sunday 26th of July 2026

एकसय घरमा एक घर, एक धारा


  • गोकर्णेश्वर अनलाइन

व्यवस्थित र शुद्ध खानेपानीको अभावमा लामो समयदेखि समस्यासँग जुध्दै आएका यहाँका नागरिकका घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुङ्गाका एकसय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो । नगरपालिकाको रु ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट रु नौ लाख ५० हजार गरी कूल रु ४० लाखको लागतमा तीन वर्षमा खानेपानी योजना सम्पन्न भएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो ।

“ठूलो बस्ती रहेको यहाँका नागरिकलाई खानेपानीको निक्कै समस्या थियो”, वडाध्यक्ष लम्सालले भन्नुभयो, “वडामा हामी निर्वाचित भएसँगै खानेपानीलाई प्राथमिकतामा राखेर काम ग¥यौं र अहिले प्रत्येक घर–घरमा धारा जडान गरी २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएका छौं ।”

झल्र्याङ्दी मुलबाट करिब डेढ किलोमिटर टाढाबाट पानी ल्याई केराबारीमा ७० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी त्यहीमार्फत घर–घरमा पानी वितरण गरिएको वडाध्यक्ष लम्सालले बताउनुभयो । स–साना मुलबाट टुक्राटुक्री पाइप जोडेर केही घरले पानी खाने गरे पनि उक्त पानी शुद्ध नभएको र अधिकांशले टाढाबाट बोकेर पानी खानुपर्ने बाध्यता रहेको राक्से, सिमलचौपारी, फुटेढुङ्गा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बोधराज रेग्मीले बताउनुभयो ।

स्थानीयवासीले प्रतिघर रु पाँच हजारका दरले रकम सङ्कलन गरी मूल रहेको १२ आना जग्गा खरिद गरेका छन् । खानेपानी वितरण तथा मर्मतका लागि प्रतिघरपरिवार मासिक रुपमा रु ६० सङ्कलन गरिएको छ । त्यसले खानीपानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई पारिश्रमिक तथा मर्मत सम्भारका लागि खर्च गर्ने गरिएको समितिका अध्यक्ष रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology