• Monday 27th of July 2026

काँग्रेसमा नयाँ सदस्य बढी


  • गोकर्णेश्वर अनलाइन

तनहुँमा नेपाली काँग्रेस नयाँ सदस्य बढी छन् । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा जिल्लामा पुरानाभन्दा नयाँ सदस्य बढी देखिएका हुन् । यही भदौ १८ गतेदेखि शुरु हुने महाधिवेशनका लागि सार्वजनिक विवरणमा जिल्लामा सात हजार ५७९ नयाँ क्रियाशील सदस्य थपिएका छन् भने नवीकरण गरेका सदस्य छ हजार ९३५ छन् ।
योसँगै कूल क्रियाशील सदस्य १४ हजार ५१४ पुगेका छन् । दश स्थानीय तह रहेको जिल्लामा ८५ वटा वडा छन् । वडामा सबैभन्दा बढी व्यास नगरपालिका–१ मा २९७ नयाँ सदस्य थपिएका छन् । व्यासमा सबैभन्दा बढी दुई हजार २४६ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा २४९ नयाँ सदस्य थपिएका हुन् । भानुमा एक हजार १४८, शुक्लागण्डकीमा एक हजार ४०, र भिमाद नगरपालिकामा ५५५, तथा देवघाटमा २५७, बन्दीपुरमा ४४२, म्याग्देमा ७४९, घिरिङमा २७५ र ऋषिङ गाउँपालिकामा ६१८ नयाँ सदस्य थपिएका छन् ।

व्यासमा दुई हजार २२४, भानुमा एक हजार १६५, शुक्लागण्डकीमा ९४९, भिमादमा ४८६, तथा देवघाटमा १५५, आँबुखैरेनीमा १६०, बन्दीपुरमा ३८९, म्याग्दे मा ६३५, घिरिङमा २०३ र ऋषिङमा ५६९ जनाले नवीकरण गराएका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा जिल्ला सभापतिका लागि कार्यवाहक सभापति जीतप्रकाश आले, जिल्ला सचिव विश्व बाँस्तोला, पूर्वसचिव प्रा डा कृष्णप्रसाद गौतमलगायतको चर्चा छ । जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी पनि जिल्ला सभापतिका लागि आकाङ्क्षी देखिएका छन् । वर्तमान सभापति एवं व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने पनि पुनःसभापतिमा दोहोरिने चर्चा कार्यकर्तामाझ चलेको छ ।

वरिष्ठ नेता पौडेल, केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायत ‘हेभिवेट’ नेताहरु पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउने तयारीमा छन् ।कार्यवाहक सभापति जीतप्रकाश आलेले जिल्ला सभापतिका लागि आफू स्वभाविक उम्मेदवार भएको बताउनुभयो ।
जिल्लाको सबैभन्दा महत्वपूर्ण व्यासको नगर सभापतिमा ट्रेड युनियन काँग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नगर समितिका सहसचिव डम्बर अधिकारी, हरिदत्त पौडेल, डा शेषरमण न्यौपाने प्रतिस्पर्धी देखिनुभएको छ । सहसचिवसमेत रहनुभएका अधिकारीले सभापतिमा उठ्ने तयारीसहित मतदाता भेटघाट शुरु गरिसक्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology