• Wednesday 29th of July 2026

नेकपा (एस) मा युवा, सामाजिक संस्था र अन्य दलको आकर्षण बढ्दै छ : नेपाल


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताउनुभएको छ । प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले पार्टी जबजको मूल्यमान्यता कायम राख्दै सामाजिक न्याय, उत्पादनमा वृद्धि र समान वितरणका साथ वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढ्ने बताउनुभयो ।
उहाँले पार्टीमा सामाजिक चेतना वृद्धि, युवा हस्तान्तरण, विचार एवं सोचमा परिवर्तन, जनतासँग सम्बन्ध, आचरणमा सुधारमा जोड दिने कुरामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मतभेद बढेको बताउँदै ओलीले सङ्कटका बेलामा मात्र वार्ता र सम्झौताको कुरा गर्ने गरेको स्मरण गर्नुभयो ।
आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै नेता नेपालले त्यसको भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा तेस्रो धार भनिएकाहरु आँट र विद्रोह गर्न नसक्ने र अध्यक्षसँग गल्ने स्वभावका भनेर समेत आरोप लगाउनुभयो ।
एक प्रसङ्गमा उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री नेपालले एमसीसी कम्प्याक्ट गर्दा नेपालले असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य सङ्गठन र सुरक्षा छाताभित्र नरहने, नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने, बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखापरीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा स्पष्ट गर्नुभयो ।
आगामी निर्वाचनसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उहाँले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकार्नुभयो । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ संयोजक तथा १५१ सदस्यीय कार्यसमिति रहने समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology