• Wednesday 29th of July 2026

मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउँछ : नेता सिंह


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताउनुभएको छ ।

स्व गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा आज आयोजित कार्यक्रममा उहाँले सत्ता गठबन्धका आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अब चाँडो मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “झण्डै दुई तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले संविधानको मर्म र भावनाविपरीत काम गर्न नसकेपछि काँग्रेस नेतृत्वमा सरकार निर्माण भएको हो, सबैलाई मिलाएर लैजाँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।” काँग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा विश्वास रहेको उहाँको भनाइ छ ।

नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताउनुभयो । उहाँले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको उल्लेख गर्दै विवाद भएका जिल्लामा विधानअनुसार समस्या समाधान गर्नुपर्ने बताउनुभयो । “विधिअनुसार पार्टी नचल्दा विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ, १४औँ महाधिवेशनलाई निष्पक्ष तवरले सम्पन्न गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउने विषयमा निरन्तर छलफल र परामर्श भइरहेको उल्लेख गर्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनमा र काँग्रेसलाई बलियो बनाउन स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको बताउनुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, किरण गिरी, पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology