• Wednesday 29th of July 2026

बागलुङमा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट


  • गोकर्णेश्वर अनलाइन

सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो । पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु खड्का, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा खिम साहनी, ढोरपाटन नगरपालिकाको अध्यक्षमा भीम गौतम, सचिवमा सुमित घर्ती र जैमिनी नगरपालिकाको अध्यक्षमा झमन पाण्डे र सचिवमा शोभाप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ ।

यस्तै काठेखोला गाउँपालिकाको अध्यक्षमा कृष्ण थापा, सचिवमा लक्ष्मी थापा रोका, ताराखोला गाउँपालिकाको अध्यक्षमा दिवस खत्री, सचिवमा फूलमाया पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा मिलन रेश्मी, सचिवमा वीरेन्द्र बुढा, निसीखोला गाउँपालिकाको अध्यक्ष कुवीर विक सचिवमा भरत पुनलाई जिम्मेवारी तोकिएको संयोजक गैरेले बताउनुभयो ।

तमानखोला गाउँपालिकाको अध्यक्षमा नरेन्द्रकुमार छन्त्याल, सचिवमा नारायण घमाल र बरेङ गाउँपालिकाको अध्यक्षमा मुकुन्द गौतम र सचिवमा सन्तबहादुर श्रीसले जिम्मेवारी लिनुभएको हो । नेकपा नेतृत्वमा रहेका पदाधिकारीलाई कायमै राखिएको र रिक्त रहेका पदमा नयाँलाई जिम्मेवारी तोकिएको संयोजक गैरेको भनाइ छ ।

नेकपा छँदा सचिवको जिम्मेवारीमा रहेका अहिले अध्यक्षको जिम्मेवारीमा आएका छन् भने सचिवमा नयाँले अवसर पाएका छन् । मुख्य नेतृत्वबाहेक कार्यसमिति सदस्य भने पूर्ववत् स्थितिमै पार्टीमा क्रियाशील रहेको माओवादी केन्द्रले जनाएको छ ।

यसअघि पार्टी केन्द्रले देशभरका वडा कमिटी पुनर्गठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएका थिए । पचासी वटै वडामा नयाँ कमिटी बनेको संयोेजक गैरेले जानकारी दिनुभयो ।

तल्लो तहदेखि नै सङ्गठन पुनर्गठनमा लागेको सो पार्टीले वडा, स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रको सम्मेलन तोकेको छ । नेकपा विभाजनपछिको नयाँ स्थितिमा पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै गति प्रदान गर्न पुनर्गठनमा जानुपरेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology