• Monday 27th of July 2026

धौलागिरि अस्पतालमा जटिल शल्यक्रियाद्वारा हड्डी प्रत्यारोपण


  • गोकर्णेश्वर अनलाइन

बलेवा, ८ असोज (रासस): बागलुङ नगरपालिका–१० का ८६ वर्षीया महिलाको धौलागिरि अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ । बुधबार दिउँसो चिकित्सकहरुको टोलीले ८६ वर्षीया महिला तुलसी थापाको सफल शल्यक्रियामार्फत कम्मरको गेडी जोर्नीको प्रत्यारोपण भएको हो ।

उहाँको गेडी भाँचिएको थियो । उक्त स्थानमा स्टिलको गेडी बनाएर प्रत्यारोपणसमेत भएको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रतीक आचार्यले जानकारी दिनुभयो । डा आचार्यकै नेतृत्वमा उक्त शल्यक्रिया पनि सफल भएको हो ।

अस्पतालमा कार्यरत एनेक्स्थेसियोलोजिष्ट डा नवीन पौडेल सहित डा कमल कार्की र डा केशव पाण्डे र वरिष्ठ नर्स देवी भट्टराई,सञ्जु क्षेत्री र शीतल राजभण्डारीको टोली शल्यक्रियामा संलग्न हुनुहुन्थ्यो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार सो शल्यक्रिया अस्पतालमा पहिलो पटक भएको जानकारीदिनुभयो । शल्यक्रिया गरेपछि पनि ती महिलालाई कम्तीमा १० देखि १५ दिन अस्पतालमै राख्नुपर्ने बताउनुभयो । डा आचार्यले शल्यक्रियाले नेपालमै जटिल प्रकारको शल्यक्रिया बागलुङमा सफल भएको सन्देश गएको जानकारी दिनुभयो ।

लडेर घाइते हुनुभएकी ती महिलाको परिवारले तीनपटकसम्म अस्पताल ल्याएपछि मात्रै यो शल्यक्रिया सफल भएको हो । पहिलो र दोस्रोपटकमा महिला नमान्दा शल्यक्रिया हुन सकेको थिएन । शल्यक्रिया नभएपछि उनलाई परिवारका सदस्यले घरमा लगेका थिए । गत भदौ २४ गते लडेकी ती महिलाले शल्यक्रिया गर्न नमान्दा धेरै पीडा सहनुपरेको थियो । “धेरै पीडा हुन्थ्यो, त्यसैले फेरि शल्यक्रिया गर्न मनाएर ल्यायौँ,” वृद्धका नाति धनबहादुर थापाले भन्नुभयो, “अहिले सफल भयो, अब पीडा नहोला । वृद्ध भएकाले धेरै जोखिम थियो, अझै पनि केही दिन जोखिम हुन सक्छ तर समयमै अपरेशन भएकाले लठ्ठी टेकेर हिँड्न सक्ने बनाएपछि क्रमशः सिधै हिँड्न सक्ने अवस्थामा जानुहुनेछ ।”

डा आचार्यले भन्नुभयो, “मेडिकल क्षेत्रको यो सफलता पनि हो ।” राजधानीका अस्पतालमा उपचार गरेको भए यस्ता घटनामा हेरविचारका लागि मात्रै तीनदेखि चार लाख खर्च हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताउनुभयो । “सबै उपचार गर्दा लाखौँ खर्च हुन्थ्यो, यहाँ सामान्य खर्चमा उपचार सम्भव भयो,” रानामगरले भन्नुभयोे, “अस्पतालमा चाहे जति उपकरण, विशेषज्ञ र अन्य स्वास्थ्यकर्मी भएमा नमूना बनाउन सकिन्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology