• Monday 5th of October 2026

निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्छ : मन्त्री अर्याल


  • गोकर्णेश्वर अनलाइन

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले अहिलेको निर्वाचन प्रणालीलाई पुनःविचार गर्नुपर्ने बताउनुभएको छ । अहिलेको निर्वाचन प्रणालीले महिलालाई प्रतिस्पर्धामा जान समस्या बनाएकोले यसमा पुनःविचार गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “निर्वाचनलाई मर्यादित बनाउनुपर्छ”, सञ्चारिका समूहले आज वीरेन्द्रनगरमा आयोजना गरेको महिला राजनीतिज्ञसँगको छलफल कार्यक्रममा मन्त्री अर्यालले भन्नुभयो, “साम, दाम, दण्ड, भेद प्रयोग गरेर मात्र चुनाव जित्ने परिपाटी हावी भएको छ ।” मन्त्री अर्यालले निर्वाचनसँग जोडिएको निर्वाचन प्रणालीको विषयमा बहस गर्न जरुरी रहेको बताउनुभयो । निर्वाचनमा सबैको समान प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्छ भन्दै मन्त्री अर्यालले यसको प्रणालीलाई पुनःविचार गरेर अघि बढ्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो । महिला आन्दोलनका कारण ल्याएको उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्ने उहाँको सुझाव थियो । “हामीले आफ्नो पदमा बसेर काम गर्न सकेनांँ भने भावी पुस्ताले पत्याउँदैनन्”, उहाँले भन्नुभयो, “त्यसैले महिलाको सक्षमतालाई हामीले उजागर गरेर देखाउनुपर्छ ।”

कार्यक्रममा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले निर्वाचन प्रर्णालीलाई हेरफेर गर्नुपर्नेमा जोड दिनुभयो । महिला दोहोरो जिम्मेवारीका कारण पुरुष समान निर्वाचनमा होमिन असहज भएको भन्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले कर्णाली संसद्मा महिलाको अर्थपूर्ण सहभागिता रहेको उल्लेख गर्नुभयो । उहाँले यसका लागि महिला सांसद एकढिक्का भएर अघि बढेको औँल्याउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रतिनिधि तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारिका समूहका निर्वतमान अध्यक्ष निर्मला शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology