• Monday 5th of October 2026

सर्वपक्षीय बैठक शुरु


  • गोकर्णेश्वर अनलाइन

नेपाल–भारत सीमा समस्यालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको सर्वपक्षीय बैठक प्रारम्भ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा नेता भीमबहादुर रावलको सहभागिता छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कमल थापालगायत सहभागी हुनुहुन्छ । सर्वदलीय बैठकको प्रारम्भ गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले एकतर्फी रुपमा सार्वजनिक गरेको नक्साले नेपाली जनताको भावनामा चोट पुगेको बताउनुभयो ।

उहाँले सर्वदलीय बैठक आयोजना गर्नुको विषयमा प्रस्ट पार्दै सीमालगायतका विषयमा साझा धारणा बनाउनु आवश्यक रहेको बताउनुभयो । भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको नेपाली भूभाग पारेको भन्दै नागरिक स्तरबाट विरोध भइरहेको छ । सत्तारूढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्साको विरोध गरिरहेका छन् । परराष्ट्र मन्त्रालयले कात्तिक २० गते प्रेस विज्ञप्तिमार्फत कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology