• Friday 24th of July 2026

ज्येष्ठ नागरिकलाई उपचार पाउनै मुस्किल


  • गोकर्णेश्वर अनलाइन

नलगाड नगरपालिका–८ मंसिरीका ६१ वर्षीय रामबहादुर पुनलाई स्वास्थ्य संस्था पुग्न छ घण्टाभन्दा बढी समय लाग्छ । भिरालोसँगै अप्ठ्यारो बाटोमा उहाँलाई दिनभरि हिँडेर स्वास्थ्य संस्था पुग्न लाग्ने समयले उपचार सम्भव नभएको उहाँको गुनासो छ । समयमै स्वास्थ्य संस्था नपुग्दा उपचार हुँदैन उहाँले भन्नुभयो, “१० देखि ४ बजेसम्म नपुगे डाक्टर भेटिंदैनन्, फेरि भोलिपल्ट बसेर उपचार गरी घर आउँदा दुई दिन लाग्छ ।” नलगाड नगरपालिका–७ स्थित दल्लीमा रहेको स्वास्थ्य संस्था पुग्न आधा बाटो हिँडेर र आधा बाटो गाडीमा यात्रा गर्नु पर्दछ । हातमा लौरीको सहारा र एक जना सहयोगी लिएर स्वास्थ्य संस्था जाँदा र आउँदा धेरै खर्च हुने गरेको उहाँको गुनासो छ । त्यस्तै डोल्पा मुड्केचुला गाउँपालिका–४ का ६७ वर्षीय श्याम सिंह रुखबाट लडेर हात भाँचिएको आठ दिनपछि मात्र नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि पुग्नुभयो । एक जना सहयोगीसहित पुग्नुभएका सिंहको नेपालगञ्ज आउन लाग्ने समय धेरै भएकाले उपचारमा समस्या भयो भन्दै चिकित्सकले सम्झाएको समेत गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मेरो घरसम्म सडक पुगेको छैन, गाडी त मैले बल्ल तीन पटक चढेँ, हात भाँचिएपछि घरेलु उपचार गरियो तर सञ्चो नभएपछि गाडी भाडा खोजेर नातिलाई सहयोगी लिएर आएको छु ।”

गाउँमा फोन बिग्रिएको पनि महिना दिन भयो, उहाँले थप्नुभयो, “नजिक अस्पताल छैन, गाउँमा फलामको भाडा बनाउने भाइलाई काब्री (काठले च्यापेर दुई पट्टी काठ राखेर गरिने घरेलु उपचार) लगाएर उपचार गरेँ तर सञ्चो नभएपछि ऋण सापटी गरेर बल्ल उपचारका लागि आएको छु ।” विकट स्थानमा वसोवास गर्ने र गरीबका बाध्यता धेरै डाक्टरलाई जानकारी छैन । त्यस्तै बारेकोट गाउँपालिका–८ लैखमकी ८१ वर्षीय पवित्रा खत्री घरको आँगनमै लडेर खुट्टामा समस्या भएको आज एक महिनाभन्दा बढी भयो तर उहाँलाई उपचार गर्न कसैले वास्ता गरेका छैनन् । दुई घण्टा हिँडेर पुग्न सकिने सेपुखोलास्थित स्वास्थ्य संस्थामा अहिलेसम्म उपचारका लागि लगिएको छैन । डोकोमा राखी बोकेर उपचारका लागि लानुपर्ने बाध्यताकै कारण उहाँले अहिलेसम्म उपचार पाउनु भएको छैन । जाजरकोट र डोल्पाका अधिकांश दुर्गम गाउँका ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त, अपाङ्ग भएका स्थानीयवासीका लागि बिरामी हुँदा उपचार पाउन मुस्किल भएको छ । स्वास्थ्य संस्था आउन र जान मात्र धेरै समय र खर्च लाग्ने भएका कारण समस्या भएको हो । गाउँगाउँमा सडक सञ्जाल नजोडिएका कारण ज्येष्ठ नागरिक, अपाङ्गलाई उपचार गर्न अझ बढी समस्या भएको हो ।

अधिकांश ज्येष्ठ नागरिकको रोग पालेर बस्ने तर स्वास्थ्य संस्था टाढा भएका कारण उपचार नपाउने अवस्था रहेको पाइन्छ । मर्ने बेलामा पनि के पैसा खर्च गर्नु भन्दै आफैँ पनि कतिपय ज्येष्ठ नागरिक उपचार गराउन इच्छुक नदेखिएको आफन्तहरु बताउँछन् । ज्येष्ठ नागरिकको उपचारप्रति विस्तारै सन्तानहरु पञ्छिने र आफैँ पनि उपचारका लागि तयार नहुने समस्याले गर्दा चुनौती थपिएको छ । ज्येष्ठ नागरिले पाउने भत्तासमेत छोराछोरीले दुरुपयोग गरिदिनेलगायतका घटनाहरुसमेत बढेका छन् । सडक सञ्जाल गाउँगाउँमा पुगेको भए ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको उपचारमा सहज हुने देखिन्छ । जाजरकोट र डोल्पाका अधिकांश भागमा सडक यातायात पुगेको छैन । हिँउद्याममा मात्र घोडेटा बाटाहरुमा यात्रा गर्न केही सजिलो भए पनि वर्षायाममा भने पूरै ठप्प हुने गर्दछ । गाउँगाउँमा भएका स्वास्थ्य संस्थाहरु पायक पर्ने ठाउँमा नहुँदा जान र आउन मात्र केही दिन लाग्ने गर्दछ । लामो समयसम्म हिँड्नु पर्दा शरीर गलेर थकान भई थप बिरामी पर्ने गरेको ज्येष्ठ नागरिकको भनाइ छ । घरेलु उपचार र औषधि पसलबाट अनुमानका भरमा खरिद गरेर ल्याएको औषधि सेवन गरी ज्येष्ठ नागरिकको उपचार हुँदै आएको पाइन्छ । यसले रोग निको हुनुको साटो अर्को समस्या आउने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology