• Tuesday 8th of September 2026

चेतनाको अभावले आँखाका रोगी बढे


  • गोकर्णेश्वर अनलाइन

आँखाको सुरक्षाबो पर्याप्त चेतना नहुँदा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । नयाँ विधुतीय प्रविधिप्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान नपु¥याउनाले आँखा रोगीको सङ्ख्या बढेको हो । पछिल्लो केही वर्षयता विशेषगरी बालबालिकामा आँखाको समस्या बढी देखिने गरेको आँखा अस्पताल भोजपुरले जनाएको छ । बालबालिकाको सिकाइ र नयाँ पाठ्यक्रम इमेल, इन्टरनेटजस्ता इलेक्ट्रोनिक्स सञ्जालसँग जोडिएकाले पनि त्यसप्रतिको बढ्दो लगावले आफ्ना बालबालिकामा आँखाको समस्या भएको सर्वसाधरण स्वीकार्छन् । ‘‘स्कूलमा होस् या घरमा बस्दा, केही सिक्लान्, इच्छापूर्ति होला भनेर मोबाइल, ल्यापटप दियो, केही समयपछि चश्मा लगाइदिनुपर्छ”, भोजपुर नगरपालिका–५ बोखिमका युरी राईले भन्नुभयो, “एकोहोरो मोबाइल, टिभी, ल्यापटपमा बस्ने भएर पनि होला बच्चाहरुको आँखा दुख्ने, पाक्ने, कमजोर भएको छ ।” आधुनिक विद्युतीय सामग्रीप्रतिको बढ्दो रुचिले पनि बालबालिकामा आँखाको समस्या दिनप्रतिदिन बढेको आँखा अस्पताल भोजपुरले जनाएको छ । बालबालिकाबाहेक अन्य उमेर समूहका ग्रामीण सर्वसाधारणमा पनि आँखाको सुरक्षाबारे चेतना नहुँदा आँखाका समस्या बढेको चिकित्सक विजय तामाङ बताउनुहुन्छ ।

उहाँका अनुसार कतिपयको आँखाको ज्योति नै गुम्ने समस्या पनि देखिने गरेको छ । आँखामा चोट लाग्ने, मोतियाविन्दुका लक्षण भएका बिरामी, मधुमेह बिरामीहरु रोगलाई सामान्य लिने, मोबाइल, टिभी, कम्प्युटर, ल्यापटपलगायत विद्युतीय सामग्रीको प्रयोग बढी गर्नाले पनि बिरामीको सङ्ख्या दिनप्रतिदिन बढेको छ । अस्पतालको तथ्याङ्कअनुसार २०७३÷७४ मा २ हजार १८७, २०७४÷७५ मा २ हजार ३८६ र २०७५÷७६ मा दुई हजार ५२७ बिरामी आँखाको उपचारका लागि आएका छन् । जसमा सबैभन्दा बढी बूढाबूढी र केटाकेटी रहेको अस्पतालले जनाएको छ । अहिले पनि अस्पतालमा दैनिक १० देखि १५ बिरामी उपचारका लागि आउने गरेको चिकित्सक सावित्रादेवी तामाङले बताउनुभयो । विगतका वर्षबाट अस्पतालले विभिन्न ग्रामीण भेगमा पुगेर निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यो वर्ष मात्रै जिल्लाका दिङ्ला, अन्नपूर्ण, घोरेटार, बालङ्खा, चयाङ्ग्रेलगायतका स्थानमा दर्जन बढी शिविर सञ्चालन गरिएको थियो । करीब दुई वर्षअघि मात्र जापान सरकारको सहयोगमा आँखा अस्पताल बनेपछि अस्पतालमा केही जटिल शल्यक्रियाबाहेक सबै किसिमका उपचार, औषधि र परामर्श सहज र सुलभ भएको सर्वसाधरण सुनाउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology