• Tuesday 8th of September 2026

स्वास्थ्यमा सुधार, प्रधानमन्त्री ओेलीको आत्मविश्वास उच्च


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाउनुभएको छ । “प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन राम्रो देखिएको छ”, उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले भन्नुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे उहाँको उपचारमा संलग्न चिकित्सकद्वारा संयुक्तरूपमा आज आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा शाहले सो जानकारी दिँदै बायोकेमिकलअन्तर्गत श्वास–प्रश्वास, रगत, पिसाब, रक्तचापलगायत अवस्था ठिक रहेको बताउनुभयो । “प्रधानमन्त्री ओली खतरामुक्त हुनुहुन्छ । तर, सघन उपचारकक्षमा रहनुभएको छ । विस्तारै हिँडडुल गर्न थाल्नुभएको छ ।

मिर्गाैलालगायत समग्र स्वास्थ्यमा सुधार आएको छ”, उहाँले सञ्चारकर्मीलाई भन्नुभयो, “घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको हो”, निजी चिकित्सक डा शाहले भन्नुभयो । “प्रधानमन्त्री ओलीको आत्मविश्वास तह (कन्फिडेन्स लेबल) उच्च रहेको छ, उहाँ आत्तिनुभएको छैन । मलाई छिटो डिस्चार्ज गर्नुप¥यो भनिरहुनुभएको छ । उहाँजस्तो आत्मविश्वासी मैले कसैलाई देखेको छैन”, उपचारमा संलग्न प्रा डा अरुण सायमीले भन्नुभयो । प्रा डा सायमी वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ । “प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ विस्तारै निको हुँदै गएको छ । घाउले शरीरको अन्यत्र भागमा सङ्क्रमण गरेको छैन । अरु बिरामीभन्दा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यही क्रममा सुधार भएमा अर्काे हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।”

उपचारमा संलग्न प्रा डा रमेशसिंह भण्डारीले भन्नुभयो । प्रा डा भण्डारी कलेजो प्रत्यारोपणका विज्ञ हुनुहुन्छ । “जति चाँडो घाउ निको हुन्छ, त्यत्ति नै प्रधानमन्त्री पूर्ववत् काममा फर्किन सक्नुहुन्छ । घाउ छिटो निको बनाउन हाम्रो प्रयास जारी रहेको छ”, उहाँले भन्नुभयो । अहिले चिकित्सकहरुले प्रधानमन्त्रीको समग्र स्वास्थ्यलाई विशेष निगरानी गर्दै उपचार गरिरहनुभएको छ । “शल्यक्रिया गरिएको घाउबाट सङ्क्रमण हुन नदिन र मिर्गाैलाको कामलाई निगरानी गरिरहेका छौँ”, डा शाहले भन्नुभयो । चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गाैलबाट रक्तस्राव हुन नदिन डायलाइसिस गर्ने गरिन्छ । प्रधानमन्त्रीको मिर्गौलाको पुनः प्रत्यारोपणको कुरा आइरहेको छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा निजी चिकित्सक डा शाहले भन्नुभयो, “कुन समयमा कहाँ प्रत्यरोपण गर्ने अथवा डायइलिस जारी राख्ने भन्नेबारेमा उचित समयमा उचित निर्णय लिन्छौँ ।” सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा सेन्टरले आवश्यक सबै काम गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology