• Saturday 25th of July 2026

सिलिचोङका सबै वडामा स्थानीय बिजुली


  • गोकर्णेश्वर अनलाइन

अरुणपारिको दुर्गम मानिएको सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छैन । तर यहाँका ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा बस्छन् । पर्याप्त खोलानाला भएको सिलिचोङमा स्थानीय खोलानालाबाट लघुजलविद्युत् उत्पादन गरिएको छ । तिनै जलविद्युत्का कारण उनीहरु उज्यालोमा बस्छन्, केन्द्रीय प्रसारण लाइनको चिन्तासम्म छैन । स्थानीयस्तरमा उत्पादन भएकाले महसुल पनि सस्तो छ । विद्युत् नपुगेको गाउँ सिलिचोङ–१ सिसुवाखोलामा पनि लघुजलविद्युत् निर्माणको काम धमाधम भइरहेको छ । साविक सिसुवाखोला गाविसको ४ देखि ९ सम्मको वडामा अहिलेसम्म पनि विद्युत् लाइन पुगेको छैन । यो वर्ष पु¥याउन सबै लागिपरिरहेका छन् । यी बस्तीहरुमा विद्युत् नपुगेकै कारण गएको तीन वर्षदेखि स्थानीय सिसुवाखोलबाट विद्युत् निकाल्ने काममा स्थानीय दिनरात खटिइरहेका छन् । सिसुवाखोला चटेक्मा लघुजलविद्युत् आयोजना नाम दिइएको आयोजना आगामी दुई महिनाभित्र सम्पन्न हुनेछ । वैकल्पिक ऊर्जा, सिलिचोङ गाउँपालिका र जनश्रमदानले ५८ किलोवाट क्षमताको लघुजलविद्युत् निर्माण गरिरहेका हुन् । दुई महिनापछि बिजुली बाल्न पाउने भएपछि स्थानीयवासी हर्षित छन् ।

गाउँलेहरु लाम लागेर बिजुलीका सामान बोक्छन् र जनश्रमदान गर्छन् । अब एक हप्ता श्रमदान गर्ने र गाउँपालिकाले विनियोजन गरेको रु २० लाख उपलब्ध भए दुई महिनाभित्र योजना सम्पन्न हुने निर्माण समितिका अध्यक्ष मञ्जिल कुलुङले बताउनुभयो । अहिलेसम्म विद्युत्गृह, कुलो निर्माण, खोलामा बाँध, बिजुलीको खम्बा गाड्ने, तार तन्काउनेलगायतका काम सकिएको उहाँले बताउनुभयो । “अब फोर वे ट्याङ्की, ओभरफ्लो कुलो, घरमा वायरिङलगायतको काम बाँकी छ”, उहाँले भन्नुभयो, बिजुलीको काम ९५ प्रतिशतभन्दा बढी सकिसक्यो, बिजुली बाल्ने अन्तिम तयारीमा छौँ ।” चालू आवमा विद्युत्लाई विनियोजन गरिएको बजेट तत्काल गाउँपालिकाले उपलब्ध गराए घरघरमा बिजुली पुग्न समय नलाग्ने समितिका अध्यक्ष कुलुङले बताउनुभयो । विद्युत् निर्माणका लागि रु ९४ लाख बराबरको सामग्रीहरु वैकल्पिक ऊर्जाले उपलब्ध गराएको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा रु ३६ लाख बजेट लगानी गरिसकेको छ । योजना सम्पन्न गर्नका लागि यो वर्ष पनि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो ।

“हालसम्म २९० उपभोक्ताले ५५ दिनका दरले श्रमदान गरिसकेका छन्”, अध्यक्ष कुलुङले भन्नुभयो, “गाउँले दाजुभाइ बिजुली निकालेर बाल्न उत्साहित भएका छन्, उहाँहरु जनश्रमदानका लागि दिनरात नभनी काम गरिरहनुभएको छ ।” “यो लघुविद्युत् निर्माण सकिएपछि सिलिचोङ गाउँपालिका–१, २, ३ र ४ को प्रत्येक घरमा विद्युत् पुग्नेछ”, गाउँपालिका अध्यक्ष कुलुङले भन्नुभयो, “केन्द्रीय प्रसारण कहिले आउने हो टुङ्गो छैन, हामी साना खोलाबाट निस्किएको बिजुलीले सिङ्गो गाउँ उज्यालो बनाउन लागेका छौँ । अब गाउँ झिलिमिली हुनेछ ।” स्थानीयस्तरमा साना खोलाबाट निस्केका बिजुली सस्तो भएको र लोडसेडिङको समस्या नभएको उहाँले बताउनुभयो । “वर्षमा दुईपटक सरसफाइ र मर्मत गर्दामात्र यो बिजुली बन्द गरिन्छ”, कुलुङले भन्नुभयो, “दुर्गममा बसेका छौँ, तर शहरबजारको जस्तो झ्याप्पझ्याप्प बत्ती गएर अँध्यारोमा बस्नु परेको छैन, यो हाम्रो लागि खुशीको कुरा हो ।” गाउँपालिका अध्यक्षका अनुसार वडा नं ५ मा भने केन्द्रीय प्रसारण लाइन जडानका लागि पहल भइरहेको छ । यो वडामा विद्युत् जडानका लागि प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा काम भइरहेको कुलुङले बताउनुभयो । विद्युत् पुरयाउन नसकिने दुर्गम गाउँबस्तीमा भने सौर्य बत्ती पालिकाले निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology