• Monday 5th of October 2026

कामपाले धर्मपथमा पार्किङस्थल निर्माण नगर्ने


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ महानगरपालिकाले धर्मपथमा निर्माण गर्ने भनिएको बहुतले पार्किङस्थल निर्माण कार्य प्रक्रिया रद्द गरेको छ । कामपाको ३९ औँ कार्यपालिका बैठकले निर्माण गर्न कानूनी जटिलता रहेको भन्दै निर्माण प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकमा बहुतले पार्किङस्थल निर्माणको काम प्रक्रियामा गइसकेको भए पनि कानूनी समस्या रहेको भन्दै रद्ध गरेको हो । उक्त स्थानमा पार्किङ निर्माणको काम २०७३ सालबाटै अघि बढेको थियो । त्यस्तै बैठकले नेपाल विद्युत् प्राधिकरणले महानगरलाई तिर्नुपर्ने राजश्व र महानगरले प्राधिकरणलाई तिर्नुपर्ने बिजुलीको बक्यौताका विषयमा अध्ययन गरी हिसाब मिलान गर्न सिफारिस गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत पाँच वटा सार्वजनिक शौचालयसहित ३६ वटा बस बिसाउनी निर्माण गर्न अनुमति दिने बैठकले निर्णय गरेको छ । बैठकले वडा ३२ मा दर्ता भएर सञ्चालन हुँदाहुँदै सञ्चालक बेपत्ता भएको हिरो बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । बैठकका अन्य निर्णयमा वडा २७ को वडा कार्यालयको भवन निर्माण सम्झौता गर्ने, चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने, शङ्खधर पार्क निर्माणका लागि मध्यपुरथिमी नगरपालिकालाई अनुदान उपलब्ध गराउने, महानगर क्षेत्रभित्रका पैदलमार्ग वडा तहबाट सम्भव हुने वडाबाटै र अन्यका हकमा महानगरबाट मर्मतसम्भार तथा व्यवस्थापन गर्नेलगायत छन् । बैठकले यही पुस २९ गते नगरसभाको मिति तय पनि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology