• Monday 5th of October 2026

राजकुमारी एस्ट्रिडलाई मन्त्री भट्टराईद्वारा स्वागत


  • गोकर्णेश्वर अनलाइन

सातदिने नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी एस्ट्रिडले आज भक्तपुर दरबार स्क्वायर टौमढी स्क्वायरका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, नेपाली थैली र ढाकाको शल लगाई स्वागत गर्नुभएको थियो । राजकुमारीका साथ आएको टोलीलाई मन्त्री भट्टराईले स्वागत गर्दै नेपाल पर्यटन वर्ष र भक्तपुर एवं नेपालको पर्यटकीय सम्पदाबारे जानकारी गराउनुभयो । त्यस्तै सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगरप्रमुख प्रजापतिले भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण तथा जीर्णोद्धार भक्तपुर नगरपालिकाले गरिरहेको बताउनुभयो । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर परिसर, पचपन्नझ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, वत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले मन्दिर र भैरबनाथ मन्दिरलगायत पुरातात्विक तथा ऐतिहासिक स्थानहरुको अवलोकन गर्नुभएको थियो ।

सो क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुरको टौमढीमा प्रसिद्ध देवीनाच र लायकु क्षेत्रमा लाखेनाच अवलोकन गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा बेल्जियमका राजकुमार लोरेन्ज, नेपालका लागि बेल्जियमका राजदूत एवं सल्लाहकार जान माथिसेन, सञ्चार तथा कोष वृद्धि प्रमुख इल्से इरिगर्स, निजी सचिव जिन यिभ्स बर्लिमोन्ट, डेमियन फाउन्डेशनका डा जिन पिरेरे बारोन स्किनकेलर्स, बेल्जियमका लागि नेपाली राजदूत आङ्ग छेरिङ शेर्पा, डा सुशील कोइराला, मेडिकल अधिकृत डा प्रमोदराज भट्टराई लगायत रहेका छन् । उक्त टोलीलाई भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाबारे संक्षेपमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology