• Monday 5th of October 2026

मेलम्ची सुरुङको मुख्य संरचनाको निर्माण पूरा


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भएको जनाएको छ । सिएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण पुनः सञ्चालन गरेपछि बितेका पाँच महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनकरुपमा अगाडि बढिरहेको देखिएको छ । यही गतिमा निर्माण कार्य भएमा लक्ष्यअनुसार नै मेलम्चीको पानी सुरुङमार्ग हुँदै सुन्दरीजलसम्म पथान्तरण गर्ने कार्य वर्षायामपछि सफल हुने आयोजनाले जनाएको छ । वैकल्पिक डाइभर्सन प्रणाली हुँदै मुख्यः टनेलबाट सुन्दरीजलको प्रशोधन प्रणालीसम्म मेलम्चीको पानी छिटो पथान्तरण गर्न अहिले आयोजना लागिरहेको छ । हालसम्म हेडबक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत र साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत सम्पन्न भएको आयोजना निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो । हाल सिन्धु ग्यालथुम खण्डमा निर्माण शुरु भएको छ र २०७६ असार १५ सम्ममा तीनवटै भेन्टसाफ्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख मेलम्ची आयोजनाको सुरुङ मार्गको परीक्षणका लागि आज खानेपानीमन्त्री बीना मगर, मेलम्ची विकास समितिका पदाधिकारीको उपस्थितिमा मेलम्चीको हेडबक्र्सबाट सुरुङमार्गको परीक्षण गरिएको छ ।

मन्त्री मगरले भन्नुभयो, “लामो प्रतीक्षा, अन्योल र पछिल्लो चरणमा हामीले गरेको महेनतपछि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । अब कुनै कारणले पनि आयोजना रोकिँदैन । तोकिएकै समयमा काठमाडौँवासीले मेलम्चीको पानी पिउन पाउँछन् । अब मेलम्ची आउँदैन भन्ने भ्रम तोडियो ।” सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेशन साफ्ट, पाइप जडान, स्काडा प्रविधि जडानलगायतका साना ठेक्काका काम पनि गरिरहेको छ । यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनकरुपमा अघि बढिरहेका छन् । मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएकामध्ये हेडबक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडान सप्लाइको काम १०० प्रतिशत, गेटको काम सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology