• Monday 5th of October 2026

मानवीय क्षति भएका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रको मानव बस्तीमा जङ्गली जनावरले आक्रमण गरी मानवीय क्षति हुँदा सम्बन्धित पीडित परिवारलाई क्षतिपूर्तिबापत अनुदान रकम यसै वर्षदेखि उपलब्ध गराउने सरकारको नीति भएको बताउनुभएको छ । उहाँले प्रदेशसभाको आज बसेको बैठकमा केही दिनअघि भएको बैठकको विशेष र शून्य समयमा बोल्नुहुने सदस्यले उठाउनुभएका विभिन्न जिज्ञासाको उत्तर दिनुहुँदै प्रदेशको स्थायी राजधानी हेटौँडालाई जोड्ने भीमफेदी–कुलेखानी सडक निर्माणको स्तरोन्नति, ढल निकास र कालोपत्र गर्ने कार्य तीव्रताका साथ अघि बढिरहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले भीमफेदी–कुलेखानी सुरुङ मार्गको सम्भाव्यता अध्ययनको रिपोर्ट प्राप्त भएपछि आगामी वैशाखको दोस्रो हप्ताभित्रै सुरुङ निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गर्न लागिएको स्पष्ट पार्नुभयो । उहाँले उक्त बैठकमा कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित हुने बिरामीलाई तत्काल उपचार गर्ने प्रक्रियामा ४० श्यया (प्रकोष्ट) को प्रदेश सरकारले व्यवस्था गर्न लागेको र सो प्रयोजनका लागि आवश्यक एप्रोन, मास्क र उपकरण खरिद गर्ने प्रक्रिया शुरु गरिसकेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले काठमाडौँको बल्खु हुँदै फाखेल–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकलाई अहिले निर्माण प्रक्रियालाई तीव्रता दिइएको र हेटौँडा जोड्ने सडकलाई गुणस्तरीय र फराकिलो गरी यात्रुलाई आवतजावतका लागि सुविधायुक्त सेवा उपलब्ध गराउन सरकारले कार्यान्वय गर्ने पनि जानकारी दिनुभयो । सो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभाका सदस्य शोभा शाक्यले राख्नुभएको एक प्रश्नको लिखित जवाफको टेबुल गर्नुभयो । उक्त बैठकमा शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयकको पूर्ण छलफलबाट प्राप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आजै अपराह्न ३ः०० बजे बस्ने गरी स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology