• Monday 5th of October 2026

कुनै समस्या परे मलाई र मेरो सचिवालयमा सम्पर्क गर्नुहोला : काँग्रेस नेता सिंह


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । नेता सिंहले आज एक विज्ञप्तिमार्फत लकडाउनको समयमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीले कुनै गम्भीर समस्या आइपरेमा सचिवालयका श्रीराम लामिछाने ( ९८५१००८८५७) र युपी लामिछाने (९८५१०८३४४०) लाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । यसैगरी निर्वाचनमा सदैव विजयी गराउने काठमाडौँ निर्वाचन क्षेत्र नं १ का जनताका लागि कुनै समस्या परेमा नेता सिंह (९८५१०२३७६४), प्रदेशसभा सदस्य (दिपेन्द्र श्रेष्ठ (९८५१००५१७२५), प्रदेशसभा सदस्य राजेन्द्र गुरुङ (९८५१०८४५४२), प्रदेशसभा सदस्य उम्मेदवार सुरज लामिछाने (९८५१०३६१३६), पार्टीका क्षेत्रीय सभापति प्रकाश राणा (९८५१०३८००८) लगायत एक दर्जन व्यक्ति सचिवालयका व्यक्तिको मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ । विश्वव्यापी महामारीको रूप लिइसकेको कोरोना भाइरसलाई नेपाल प्रवेश गर्नै नदिने प्रयास असफल भइसकेको र अब त्यसलाई थप फैलिन नदिने तथा यसको प्रभावबाट हुनसक्ने क्षति कसरी रोक्ने भन्ने गम्भीर चुनौती खडा भएको नेता सिंहले उल्लेख गर्नुभएको छ ।

वर्तमान कठिन चुनौती सामनाका लागि सबैखाले साथ र सहयोग गर्न उहाँले आफू र आफ्नो पार्टी सदैव तत्पर रहेको स्पष्ट पार्नुभएको छ । यस विषम परिस्थितिमा अहोरात्र सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीलगायत सम्बद्ध सम्पूर्णप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँले तीनै तहका सरकार र पार्टीका आम कार्यकर्तालाई पनि जनताको सेवामा लाग्न अनुरोध गर्नुभएको छ । नेता सिंहले लकडाउनको अवस्थामा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका आधिकारिक सूचना र नियमको पालना गर्दै सबैलाई घरभित्रै बस्न आग्रह गर्दै कोरोना भाइरसबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न धेरैभन्दा धेरै व्यक्तिको स्वास्थ्य परीक्षण गर्न जरुरी भएको बताउनुभएको छ । सम्भव भएसम्म धेरै स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन र त्यो परीक्षणको नतिजा छिटो निकाल्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै उहाँले यसको जोखिमबाट सबै नेपालीलाई बचाउन प्रभावकारी र चुस्त कार्ययोजना बनाउन सरकारसँग माग गर्नुभएको छ ।

विदेशस्थित नेपालीको अवस्था र सुरक्षामा समेत ध्यान दिँदै नेपाली दूतावासलाई अझ प्रभावकारी बनाउन सरकारसँग अपिल गर्दै नेता सिंहले लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउनसमेत कठिन भएकाले तत्काल राहत प्याकेज ल्याउन नेपाल सरकारसँग माग गर्नुभएको छ । त्यस्तै उहाँले सर्वसाधारणका लागि दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन औषधि उपकरणको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमका लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन पनि सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology