• Monday 5th of October 2026

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही


  • गोकर्णेश्वर अनलाइन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्यासितरुपमा कोरोना भाइरसले निम्त्याएको सङ्कटको कुनै पनि हालतमा सामना गरिने उल्लेख गर्नुभयो । शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “विश्व मानवजातिका विरुद्ध खडा भएको यो सङ्कटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित बनाउने छैन, बरु यो सङ्कटको सामना गर्न हामी सक्षम हुनेछौँ ।” प्रदेश सरकार सम्पूर्ण साधनस्रोत तथा संयन्त्रको परिचालनसहित सङ्कट निवारण गर्न लागिपरेकाले कोही पनि नागरिक त्रसित एवं निराश नहुन मुख्यमन्त्री शाहीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

महामारीको रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबैले आआफ्नोतर्फबाट सहयोग गर्न आग्रह गर्दै उहाँले सन्देशमा सबै बाधा, अवरोध र चुनौतीलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाइ समतामूलक, समृद्ध र समाजवादी देश निर्माण गर्न सफल हुने विश्वाससहित नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दिर्घायुको कामना गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology