• Monday 5th of October 2026

पर्यटन क्षेत्रलाई माथि उकास्ने योजना बनाउँदैछौँ : पर्यटनमन्त्री


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ बाट नराम्ररी असर पारेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारी तथा निजी क्षेत्रबाट विभिन्न पहलकदमी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि कोभिड–१९ बाट आक्रान्त बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न विभिन्न रणनीति बनाइरहेको छ । कोभिड–१९ का कारण धरासायी अवस्थामा रहेको पर्यटन क्षेत्रलाई गति दिन मन्त्रालयले विभिन्न सम्भावनाको खोजी गरिरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको भिडियो कन्फ्रेन्समार्फतको अन्तक्र्रियामा मन्त्री भट्टराईले कोभिड–१९ बाट पर्यटन क्षेत्रमा परेको वास्तविक असरको पहिचान गरी यस क्षेत्रलाई माथि उकास्न नयाँ योजनाका साथ अघि बढ्ने बताउनुभयो । उहाँले आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिने गरि योजना बनाइरहेको पनि बताउनुभयो ।

पर्यटन क्षेत्रको असरबारे अध्ययन गर्न पर्यटन मन्त्रालयका सहचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल रहेको समितिले वास्तविक विवरण सङ्कलन गरिरहेको छ । पर्यटनको यकीन विवरण आएपछि के कस्ता राहतका कार्यक्रम ल्याउने भन्ने टुङ्गोमा पुगिने पर्यटन मन्त्री भट्टराईको भनाइ छ । उहाँले भन्नुभयो, “यो कोभिड–१९ महामारी नियन्त्रणका बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । सङ्क्रमण रोकिए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । त्यसैले नेपालको पर्यटन क्षेत्रलाई ‘भाइब्रेन्ट’ बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।” मन्त्री भट्टराईले पर्यटन क्षेत्रको वित्तीय सङ्कट समाधानका लागि अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगसँग पनि छलफल भइरहेको बताउँदै आगामी बजेटका सन्दर्भमा अहिले उठेका विषयलाई सम्बोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले पर्यटन क्षेत्रका श्रमिकलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको जानकारी पनि दिनुभयो ।

पर्यटन क्षेत्रका जनशक्तिलाई हिमाल सरसफाइ, पदमार्ग निर्माण, साइनेजिङ, फुट ट्रेल निर्माणलगायत काममा लगाउन सकिने उहाँको भनाइ छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आगामी तीन वर्षको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले सन् २०२० सम्मको गुरुयोजना बनाएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्नुपर्छ, सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुनरुत्थान गर्ने र सन् २०२२ मा पूर्णरुपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्छ ।” पर्यटन मन्त्रालयले नीतिगत सुधार गरी मन्त्रालयका अन्यत्रका बजेट कार्यक्रमलाई कोभिड–१९ ले शिथिल बनेको पर्यटनमा खर्च गर्ने वातावरण सिर्जना गर्न जरुरी छ । सरकारले यो अवस्थामा मुलुकको हरेक क्षेत्रमा सुरक्षा अवलम्बनका लागि म्यानुअल संयन्त्र बनाउन आवश्यक रहेको जोशीले बताउनुभयो ।

होटल एशोसिएसन अफ नेपाल (हान) का द्वितीय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा लकडाउन खुलेपछि पनि केही समय विदेशी पर्यटक आउने सम्भावना कम रहेको भन्दै आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology