• Monday 5th of October 2026

कोरोना प्रतिकार्यमा कर्णाली सरकारको उचित कदम : शर्मा


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका इञ्चार्ज जनार्दशन शर्माले कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुसँग प्रदेश सरकारको कामकारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा आइतबार भएको भर्चुअल बैठकमा इञ्चार्ज शर्माले हालसम्म प्रदेश सरकारले सह्रानीय काम गरेको बताउनुभएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका इञ्चार्ज शर्माले भन्नुभयो, “कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारले राम्रोसँग पहलकदमी लिएको छ । चालु आवको बजेट स्वास्थ्य क्षेत्रको पूर्वाधार, सामग्री र उपचारमा मात्र परिचालन गर्न आग्रह गर्दछु ।” सरकारविरुद्ध प्रश्न नउठ्ने गरी पारदर्शी काम गर्न र कोरोनाका कारण आउन सक्ने विश्वव्यापी आर्थिक मन्दी, वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वदेश फिर्तीलगायतले पार्न सक्ने जोखिमलाई ध्यान दिन एवं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा हतारो नगर्न मुख्यमन्त्री शाहीलाई उहाँले सुझाव दिनुभयो ।

इञ्चार्ज शर्माले लकडाउनको उपयोग गर्दै कोरोनाविरुद्ध लड्न आन्तरिक तयारीलाई तीव्र बनाउन तथा लकडाउन खुलेपछि आइपर्ने सम्भावित चुनौतीको हल गर्ने गरी आगामी रणनीति तयार गर्न पनि सुझाउनुभयो । बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सबै मन्त्रीले कर्णाली प्रदेशमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारवाहीबारे पार्टी नेतृत्वलाई जानकारी गराउनुभएको थियो । बैठकमा मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मासहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology