• Monday 5th of October 2026

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनियाँ सहयोगका बारेमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले कोरोनासँग आफै पनि जुधिरहेको चीनले खुला हृदयका साथ नेपाललाई सहयोग गरेकामा चीन सरकार र चिनियाँ जनताको उच्च प्रशंसा गर्नुभयो । अध्यक्ष दाहालले राजदूतमार्फत चीन सरकारले नेपाललाई उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिनुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

सो अवसरमा चिनियाँ राजदूतले कोरोना भाइरसको नियन्त्रणमा नेपाललाई उपलब्ध गराएको सहयोग निरन्तर जारी राख्ने र आवश्यक परेको खण्डमा अझै थप सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष दाहाललाई गराउनुभएको थियो । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि आजै चिनियाँ राजदूतले शिष्टाचार भेट गर्नुभएको छ । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उहाँहरुबीच नेपाल र चीन सम्बन्धमा विविध आयामका बारेमा छलफल भएको थियो । नेता नेपाल नेकपाको विदेश विभाग प्रमुखसमेत हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology