• Monday 5th of October 2026

विशेष आर्थिक प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग


  • गोकर्णेश्वर अनलाइन

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन सङ्घीय सरकारसँग माग गर्नुभएको छ । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी कोरोनाविरुद्ध लडाइँका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गर्नुभएको हो । उहाँले भारतसँगको खुला सिमाना तथा भारतमा रोजगारी गर्दै आएका नागरिकको स्वदेश फिर्ताले प्रदेशमा कोरोनाको सङ्क्रमण बढ्ने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिएकाले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गर्नुभएको हो । मुख्यमन्त्री राउतले लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरे पनि लकडाउन थपिँदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसाङ्ख्यिक बनोट, मानव विकास सूचकाङ्क र सामाजिक विकासको अवस्थासमेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकाले सङ्घीय सरकारबाट ठोस कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।

उहाँले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा पिसिआर परीक्षण सञ्चालन गरे पनि भिटिएम किटको अभावमा अपेक्षित परीक्षण गर्न नसकिएकाले सङ्घ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत माग गर्नुभएको छ । यसका साथै वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागि समेत विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology