• Monday 5th of October 2026

शिक्षामा फड्को मार्ने अठोटका साथ बजेट आएको छ : सांसद पौडेल


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले कोभिड–१९ लाई सामना गर्ने, आर्थिक पुनःउत्थानमा ध्यान दिने तथा निर्वाचनमा नेकपाले प्रस्तुत गरेको घोषणापत्र अनुसरण गर्ने प्रतिबद्धताका साथ आगामी आर्थिक वर्षको बजेट आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटले अहिलेको समस्या समाधान गर्ने आधार सिर्जना गरेको र दीर्घकालीन लक्ष्य हासिल गर्न केन्द्रित भएको बताउनुभयो । उहाँले स्रोत व्यवस्थापन र विनियोजनको दृष्टिकोणले पनि बजेट यथार्थपरक रहेको बताउनुभयो । “बजेटले आजको चुनौती सामना गर्ने लक्ष्यमात्र लिएको छैन, आर्थिक क्रियाकलापको विकासमार्फत दिगो विकासमा लाग्ने सङ्कल्प गरेको छ, यसले अधिकतम प्रतिफल दिन्छ भन्ने मेरो ठम्याइँ छ”, नेकपाका महासचिव समेत रहनुभएका उहाँले भन्नुभयो । बजेटप्रति आफ्नो दृढ समर्थन रहेको उल्लेख गर्दै उहाँले नागरिकको जीवन रक्षा जस्तो महत्वपूर्ण मुद्दा बजेटमा समेटिएको बताउनुभयो ।

विकासमा निरन्तरता, लोककल्याणकारी राज्य, आर्थिक पुनःउत्थानका साथै स्वाधीन तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण बजेटको लक्ष्य भएको उहाँले बताउनुभयो । पूर्वअर्थमन्त्री पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनबाट आजको चुनौतीको सामना गर्न र संविधानमार्फत देखेको समाजवादको सुन्दर भविश्यतर्फ आफ्ना कदमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन समर्थ हुने विश्वास व्यक्त गर्नुभयो । गत वर्षको तुलनामा आगामी आवको बजेट चार प्रतिशतले कमी भए पनि यसले आजको यथार्थतालाई स्वीकार गरेको उहाँले बताउनुभयो । आन्तरिक राजश्वलाई बजेटले आफ्नो स्रोतको मुख्य आधार मानेको उहाँको भनाइ थियो । बजेटले निश्चित गरेका लक्ष्यले आजको चुनौती र भोलिका सम्भावना दुवैका बीचमा एउटा अन्योन्याश्रित अन्तरसम्बन्धलाई आत्मसात् गरेको छ भन्नुभयो । आर्थिक वृद्धि सात प्रतिशत र मुद्रास्फीति सात प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले बजेटले लिएको लक्ष्य सराहनीय रहेको उल्लेख गर्नुभयो ।

“बजेटले नागरिकको जीवन रक्षालाई महत्वपूर्ण मुद्दा बनाएको छ, बजेटले प्राथमिकता ठीक ढङ्गले निश्चित गरेको छ”, उहाँले भन्नुभयो । कोभिड–१९ ले सिर्जना गरेको चुनौती सामाधान गर्नु अहिलेको सर्वाधिक प्राथमिकताको विषय भएको भन्दै उहाँले बजेटले पनि सोही विषयलाई नै प्राथमिकता दिएको छ भन्नुभयो । उहाँले कोभिड–१९ जस्तो विश्वस्तरको चुनौती नेपाल एक्लैले सामना गर्न नसक्ने हुँदा अहिलेको परिस्थितिलाई सही ढङ्गले बुझ्नु सबैलाई आग्रह गर्नुभयो । उहाँले बजेटमा आगामी आवमा ४० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने र आगामी तीन वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने विषय समेटिएको छ भन्नुभयो । कोरोना प्रभावितलाई राहत दिन रु एक खर्बको पुनःकर्जा कोष सञ्चालनमा ल्याएको, निम्न वर्गलाई विद्युत् महसुलमा छुट, विदेशमा अलपत्र नागरिकको उद्धार, रोजगारी सिर्जना, साना व्यवसायीलाई आयकर छुटलगायत राहतका कार्यक्रमले सगम्र अर्थतन्त्रलाई पुनः उत्थान गर्ने उहाँले उल्लेख गर्नुभयो ।

“कृषि र पशुपक्षीको क्षेत्रमा नयाँ अठोट लिएको छ, कृषि क्रान्ति वाक्यमा मात्र होइन यसको व्यावहारिक प्रयोग गर्ने नीति लिएको छ”, उहाँले भन्नुभयो, “कृषि उत्पादन अभिवृद्ध गर्दै आत्मनिर्भर हुने पक्षमा बजेटले गति लिएको छ, बजेटले कृषि क्रान्तिमा फड्को मार्ने विश्वास व्यक्त गर्दछु ।” उहाँले आगामी आवमा तराईका २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने, सुनकोशी–मरिन डाइभर्सन आयोजना, पहाड तथा हिमालमा लिफ्ट सिँचाइ आयोजना अघि सारेको उल्लेख गर्नुभयो । “वन र वातावरणका क्षेत्रमा बजेटले महत्वपूर्ण अवधारणा अघि सारेको छ”, उहाँले भन्नुभयो, “निर्माणाधीन विमानस्थल सम्पन्न गर्ने, थप पूर्वाधार निर्माण गर्न रकम विनियोजन गरिएको छ ।” उद्योग वाणिज्यका क्षेत्रमा बजेटले मौलिक व्यवस्था गरेको बताउँदै उहाँले औद्योगिक क्षेत्र, औद्योगिक ग्राम स्थापना गरेर औद्योगिक वातावरण सिर्जना गर्न सहयोग गरेको छ भन्नुभयो ।

“शिक्षामा फड्को मार्ने अठोटका साथ बजेट आएको छ”, उहाँले भन्नुभयो । बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनु अबको आवश्यकता औल्याउँदै उहाँले कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “अब के सत्ता पक्ष के प्रतिपक्ष बजेटको कार्यान्वयनमा एक भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । सांसद कृष्णप्रसाद दाहालले कोरोनाले थिलोथिलो बनेका अर्थतन्त्रलाई चलायमान बनाउन बजेटले सकारात्मक दिशा समेटेको छ भन्नुभयो । बेरोजगारी समस्या समाधान गर्न, कोरोनाका कारण परेको स्वास्थ्य सङ्कट टार्न, कृषि, सिँचाइ, राहत र पुनःउत्थानका कार्यक्रम बजेटमा आएको र बजेटले मूलभूत विषय सम्बोधन गरेको उहाँले बताउनुभयो । “बजेटले हाम्रा स्वास्थ्य, बेरोजगारी समस्या र राहतका कुरालाई जसरी सम्बोधन गरेको छ, यसको सही कार्यान्वयन भयो भने बजेटले लिएका लक्ष्य पूरा हुन्छन् र मुलुकले गति प्राप्त गर्छ”, उहाँले भन्नुभयो ।

सांसद सूर्य पाठकले बजेटले मानवीय सुरक्षालाई प्रमुख प्राथमिकता दिएको, लक्ष्य प्राप्ति गर्ने खालको रहेको र बजेटले सम्पत्तिको वितरणमात्र होइन आधारभूत विषयमा फड्को मारेको छ भन्नुभयो । सीमा क्षेत्रमा सुरक्षा तैनाथ गर्ने, सडक संरचना बनाउन बजेटको सुनिश्चितता गरेको र सरकारले गरेका राम्रा कामको समर्थन गर्न कुनै कञ्जुस्याईं नगर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology