• Monday 5th of October 2026

गौरवका आयोजनाले समृद्धिमा फड्को : पूर्वमन्त्री बाँस्कोटा


  • गोकर्णेश्वर अनलाइन

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय गौरवका आयोजनाले समृद्धिमा फड्को मार्ने बताउनुभएको छ । बनेपा नगरपालिका–१ स्थित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै चालु आर्थिक वर्षमा सञ्चालित तथा आवका लागि विनियोजित राष्ट्रिय गौरवका योजनाले समृद्ध देश बनाउन फड्को मार्ने बताउनुभएको हो । उहाँले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई तीव्रता दिन देशभरका क्षेत्रमा विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “घरघरमा विकास असम्भव होला तर, विकासले हरेक क्षेत्रका घरघरमा समृद्धिको अनुभूति दिलाउनेछ ।” उहाँले आगामी आर्थिक वर्षका लागि सरकारले अन्य जिल्लामाझै काभ्रेपलाञ्चोकमा पनि ठूला ठूला गौरवका आयोजनाका लागि अर्बौं बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

बाँस्कोटाले राष्ट्रिय प्रतीरक्षा विश्वविद्यालय, मदन भण्डारी विश्वविद्यालय तथा बनेपा, पनौती र धुलिखेल तीन नगरलक्षित पुण्यमाता करिडोर, पाँचखाल बृहत् खानेपानी आयोजना, ललितपुरको ग्वार्कोदेखि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको कटुञ्जेसम्मको राष्ट्रिय राजमार्ग, भक्तपुरदेखि धुलिखेलसम्मको छ लेनको सडकलगायत गौरवका योजनालाई बजेट विनियोजन भएको स्मरण गर्नुभयो । “यी राष्ट्रिय गौरवका दीर्घकालीन योजना समृद्ध काभ्रेपलाञ्चोकको सूचक हुन्”, उहाँले भन्नुभयो । चालु तथा क्रमागतमा पाँचखालको विशेष आर्थक क्षेत्र (सेज)लगायत दर्जन खानेपानीका योजनाको निरन्तरताले समृद्ध काभ्रेपलाञ्चोकमा निकै महत्व राख्ने उहाँले जिकिर गर्नुभयो । “जलविद्युत्का पनि दुई योजना अघि बढ्दै छन्, जिल्लावासीले चिन्ता लिनुपर्दैन”, उहाँले भन्नुभयो । बाँस्कोटाले यसअघि आजै बनेपा नपा–४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्याबको उद्घाटन र बनेपा–नाला सडकखण्डमा महादेव खोलामा निर्माण सम्पन्न पुलको उद्घाटन गर्नुभएको थियो ।

उहाँले आफू सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदाका बखत सामुदायिक विद्यालयलाई डिजिटलाइजेसन बनाउने अभियानअन्तर्गत काभ्रेपलाञ्चोकका ९६ विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्नुभएको थियो । “प्रत्येक विद्यालयमा २४ कम्प्युटरसहित ब्याकअप व्यवस्थित गरिएको छ, यस अभियानअन्तर्गत देशभरका सामुदायिक विद्यालयमा सूचना–प्रविधिलाई सहज बनाउने उद्देश्य लिएका थियौँ”, कम्प्युटर ल्याब उद्घाटनका अवसरमा बाँस्कोटाले भन्नुभयो । साथै, उहाँले निर्धारित समयमै पुलको काम सम्पन्न भएकोमा निर्माण कम्पनीलाई धन्यवाद दिनुभएको थियो । आगामी आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा क्रमागत, विशेष र अनुदानका १०४ योजना सञ्चालन हुने उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology