• Monday 5th of October 2026

हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व छ : मन्त्री फुयाँल


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व रहेको बताउनुभएको छ । रासससँग कुरा गर्दै मन्त्री फुयाँलले सुरुङको निर्माणपछि ढुवानी तथा मोटरपार्टसमा वर्षौँदेखि भइरहेको अर्बौं रुपैयाँ बराबरको खर्च रोकिने उल्लेख गर्नुभयो । उहाँले यस मार्गले देशकै सबैभन्दा ठूलो भन्सार नाकासमेत भएको प्रदेश २ मा रहेको वीरगञ्जलगायत उक्त प्रदेशका विभिन्न क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशको समेत केही क्षेत्रलाई देशको राजधानीसँग सहज रुपमा जोड्नसमेत सहज हुने बताउनुभयो । उहाँले मुग्लिङ– काठमाडौँ सडकखण्डलाई चाहेर पनि दुई लेनभन्दा बढी फराकिलो बनाउन नसकिने भौगोलिक जटिलता रहेको बताउँदै सुरुङ नै उत्तम विकल्प रहेको उल्लेख गर्नुभयो ।

हाल विभिन्न क्षेत्रबाट राजधानी सम्मका लागि हुने ढुवानीमा सयौँ किलोमिटर लामो दूरी तय गर्नुपर्दा इन्धन तथा मोटरपार्टसमा समेत अर्बौं रुपैयाँ खर्च हुने गरेको उहाँको भनाइ थियो । मन्त्री फुयाँलले हाल देशमा सवारी दुर्घटनाका कारण सयौँ मानिसको मृत्यु हुने गरेको भन्दै उक्त सुरुङमार्गले दुर्घटनाबाट हुने मृत्युदरलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतबाट हाल अमलेषगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौँ पु¥याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने बताउनुभयो । कूल ७२ किलोमिटरमा अमलेषगञ्ज काठमाडौँ पाइपलाईन विस्तार गर्न सकिने उहाँको भनाइ थियो । उक्त मार्गको सञ्चालनपछि देशको इन्धन र स्पेयर पार्टसमार्फत खर्च हुने वार्षिक एक अर्बभन्दा बढी रकम बचत हुने, मोटरहरुको खरिदमा कमी आउने, यात्रुका लागि यात्राको अवधिसमेत बचत हुने तथा सडक मर्मत खर्च घट्नेलगायत देशलाई दीर्घकालीन फाइदा हुने उहाँले बताउनुभयो ।

मन्त्री फुयाँलले उक्त मार्गको निर्माणपछि काठमाडौँसँग छिमेकी शहरहरुको दूरी कम हुन आउने र सोका कारण राजधानी सहर काठमाडौँको जनघनत्व विस्तार भई सन्तुलन कायम हुने उल्लेख गर्नुभयो । उहाँले काठमाडौँका उद्योगधन्दाहरुमा कम ढुवानीमा कच्चापदार्थहरु पु-याउन सकिने हुँदा उत्पादन लागत कम हुनेलगायत थुप्रै फाइदा रहेको बताउनुभयो । मन्त्री फुयाँलले सुरुङमार्गलाई समयमै सुरु गर्न तथा समयमा नै सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । फुयाँलले तत्काल सङ्घीय सरकारसँघ छलफल गरी आवश्यक गृहकार्यहरु सम्पन्न गरेर सहकार्यमा काम अगाडि बढाउने जानकारी दिनुभयो । वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी, कुलेखानी सुरुङमार्गको बोलपत्र आह्वानको तयारी भइरहेको तर सङ्घीय सरकारसँग सहकार्य हुने भएकाले छलफलका लागि केही समय लागेको बताउँदै अब चाँडै काम थाल्ने जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology