• Monday 5th of October 2026

समृद्धिको बाधक लागुऔषध : गृहमन्त्री थापा


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री रामबहादुर थापाले मुलुकको आधारभूत समस्याको रुपमा लागुऔषध रहेको बताउनुभएको छ । सबैभन्दा धेरै युवापुस्ता लागुऔषधको दलदलमा फसेको उदाहरण प्रस्तुत गर्दै उहाँले मुलुकको समृद्धिको बाधक पनि लागुऔषध नै भएको जिकिर गर्नुभयो । लागुऔषध दुरुपयोगका कारण उत्पादनमूलक जनशक्ति नराम्ररी प्रभावित भएकोसमेत उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्रालयमा आज आयोजित लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै उहाँले तथ्यङ्कले लागुऔषधको दुरुपयोग कोरोना जस्तै विश्वव्यापी रुपमा फलिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो एक प्रकारको कोरोना जस्तै सङ्क्रामक रोगभन्दा पनि फरक पर्दैन, यसले कोरोनाले जस्तै मानव अस्तित्व सुरक्षित राख्न विश्वसामु नै चुनौती खडा गरिरहेको छ ।”

प्रतिवेदनमा मुलुकभर कुल एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन् । विभिन्न ४३ जिल्लाका दुई हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । गत २०६९ मा प्रयोगकर्ताको सङ्ख्या कूल ९१ हजार ५३४ थियो । तथ्याङ्कमा वृद्धि भए पनि वृद्धिदर भने घटेको पाइएको छ । उहाँले युवा शक्ति बढी लागुऔषध दुरुपयोगमा फसेकाले त्यसको नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो । गृहमन्त्रालयले लागू गरेको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समेत लागुऔषध दुरुपयोग र यसबाट हुने अपराध रोक्ने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले प्राप्त तथ्याङ्कमा सङ्ख्या वृद्धि भए पनि वृद्धिदर घट्नु खुशीको कुरा भएको बताउनुभयो ।

प्राप्त प्रतिवेदनले आगामी दिनमा यसको दुरुपयोग नियन्त्रणका लागि थप रणनीति तय गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । गृहसचिव महेश्वर दाहालले बेरोजगारी बढी लागुऔषध प्रयोगकर्ता रहेको प्रतिवेदनले औल्याएको तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “युवा शक्ति सहभागी हुनु भनेको मुलुकको विकासमा समेत अवरोध हुनु हो”, उहाँले भन्नुभयो, “लागुऔषधसँग अन्य रोगको साइनो जोडिएकाले मानव स्वास्थ्यलाई समेत प्रतिकूल प्रभाव पारिरहेको छ, यसतर्फ बेलैमा सोच्नु पर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology