• Monday 5th of October 2026

जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री ढकाल


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । २५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताउनुभयो । मन्त्री ढकालले जनसङ्ख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो । उहाँले जनसङ्ख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने औल्याउनुभयो ।

“सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरुमा सुधार गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सेवासुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधारहरुको निर्माण गरी व्यवस्थित बसोबासलाई मिलाएर अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको छ ।” देशको आधा हिस्साभन्दा बढी सङ्ख्यामा रहेका महिलाको स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, रोजगारीजस्ता विषयहरुमा राज्यले विशेषरूपमा ध्यान दिन सकेमा मुलुकको विकासमा यसले ठूलो योगदान पु¥याउन सकिने उहाँको भनाइ थियो । विश्वभरि नै मनाउन थालिएको दिवसको नारा ‘कोभिड–१९ सङ्क्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौँ’ रहेको छ ।

सन् १९८७ मा विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको स्मरण गर्र्दै सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन् । नेपालको जनसङ्ख्या तीन करोड पुगेको छ । त्यसमध्ये शहरमा २१.४ प्रतिशत रहेको मन्त्रालयका जनसङ्ख्या महाशाखा प्रमुख शैलेजा रेग्मीले जानकारी दिनुभयो । यसैगरी नेपाल विश्वको जनसङ्ख्याको ४९ औँ स्थानमा रहेको छ । नेपालको औसत आयु ७१.७४ रहेको छ । प्रतिहजारमा २३.४ जना शिशु मृत्युदर रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology