• Monday 5th of October 2026

आमसञ्चारमाध्यमका लगानी पारदर्शी गरिने : सञ्चारमन्त्री


  • गोकर्णेश्वर अनलाइन

सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उहाँले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन थालिएको बताउनुभयो । उहाँले कोभिड–१९ का कारणले सञ्चारमाध्यम ‘मध्यम’ रुपमा प्रभावित भएको भन्दै सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको बताउनुभयो ।

‘‘कोभिड–१९ का कारणले सञ्चारमाध्यम मध्यम रुपमा प्रभावित भएको छ’’, उहाँले भन्नुभयो, ‘‘कोभिड–१९ का कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई कामविहिन बनाउन हँुदैन । रोजगारदाता र श्रमिक मिल्नुको विकल्प छैन ।” उहाँले सञ्चारमाध्यमलाई पनि कानूनी रुपमा उद्योगका रुपमा परिभाषित गरिएकाले सञ्चारमाध्यममा देखिएका समस्या श्रम, अर्थ र सञ्चार मन्त्रालय बसेर टुङ्ग्याइने बताउनुभयो । कोभिड–१९ का कारण सरकारले चैत महिनामा पूरै र वैशाख महिनाको ५० प्रतिशत र बाँकी तलब पछि दिने भनेर निर्देशन दिएको भन्दै उहाँले कतिपय सञ्चारमाध्यमले विज्ञापनको पैसा पाउन नसकेर समस्या आएको हुन सक्ने बताउनुभयो ।

“साउन महिनापछि पहिलेकै अवस्थामा फर्कनेछाँै, त्यसपछि धेरै क्षेत्रलाई अब सामान्य ढङ्गबाट सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि सञ्चारमाध्यम पनि सहज चल्न सक्दछन् र श्रमजीवी पत्रकार कटौती गर्ने अवस्था आउनेछैन ।” सञ्चारमन्त्री डा खतिवडाले सञ्चारमाध्यममा श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको जानकारी दिनुभयो । उहाँले चाँडै नै विज्ञापन बोर्डको गठन गरेर लोककल्याणकारी विज्ञापन निष्पक्ष ढङ्गले वितरण गरिनेसमेत जानकारी दिनुभयो । छलफलमा सांसद गणेश पहाडी र जीपछिरिङ लामाले कोभिड–१९ का कारणले श्रमजीवी पत्रकार बेरोजगार हुननहुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले पत्रकारका श्रम र सिर्जनाबाट कमाएका सञ्चारमाध्यमले अहिले आएर कोभिड–१९ का कारण देखाउँदै जागिरबाट निकाल्ने गरेको बताउनुभयो । मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले आमसञ्चारमाध्यमलाई जीवन्त राख्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुभाष खतिवडा, ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, नेपाल प्रेस सङ्गठनका नरेन्द्र साउँद, प्रेस युनियन नेपालका कोषाध्यक्ष सरोज अधिकारीलगायतले कोभिड–१९ का कारण देखाएर श्रमजीवी पत्रकारलाई सञ्चारमाध्यमले निकाल्न नहुने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology