• Monday 5th of October 2026

पूर्वसांसद बुढाको निधनप्रति अध्यक्ष दाहाल मर्माहत


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताउनुभएको छ । आज वक्तव्य जारी गर्दै उहाँले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको बताउनुभएको छ । “सामन्तवाद विरोधी मुक्तियुद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहनुभएको थियो, उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ”, वक्तव्यमा अध्यक्ष दाहालले भन्नुभएको छ, “सङ्घर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”

उहाँले शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा पनि समवेदना प्रकट गर्नुभएको छ । बुढाको उपचारका क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको थियो । यसैगरी अध्यक्ष दाहालले नवलपरासीका कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा कुलचन्द्र महतोको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । उहाँले शिक्षण पेशा त्यागी जनयुद्धमा समाहित महतोको निधनबाट पार्टीले क्रान्तिकारी योद्धा गुमाउनुका साथै सिङ्गो समुदायले अनुभवी नेताको अभाव महसुस गरेको बताउनुभएको छ । लामो समयदेखि अर्बुद रोगबाट पीडित ६८ वर्षीय महत्तोको आज बिहान हुक्सीकोट गाउँपालिकामा निधन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology