• Monday 5th of October 2026

डिजिटल नेपाल निर्माण पूरा गर्न निर्देशन : मन्त्री खतिवडा


  • गोकर्णेश्वर अनलाइन

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले डिजिटल नेपाल निर्माणको सपना साकार पार्ने गरी पारदर्शी ढङ्गबाट काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित स्वागत तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहनुभएका मन्त्री खतिवडाले सञ्चारको क्षेत्रमा धेरै नै विकास भए पनि अझै डिजिटल नेपाल भइनसकेकाले पूर्ण डिजिटल नेपाल निर्माणमा लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

उहाँले मन्त्रालयको शाख बढाउँदै र सुरक्षा अपनाउँदै व्यवस्थित ढङ्गबाट डिजिटल प्रविधिबाट काम गर्न सबैलाई अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “आम सञ्चारको क्षेत्रमा धेरै विकास भएको छ, जसका कारण जनताले सुसूचीत हुने अवसर पाएका छन्, डिजिटलसम्म आउन धेरै विकास भएको छ, अझै काम गर्नुपर्ने छ ।” सञ्चार र प्रविधिको विकाससँगै विकृति पनि आएको बताउँदै उहाँले जनतालाई अलमलाउनेभन्दा पनि सुसूचीत हुने गरी छिटो तर सत्य, तथ्य, निश्पक्ष, विश्वसनीय समाचार सामग्री मात्र सम्प्रेषण गर्न आम सञ्चार माध्यमलाई अपिल गर्नुभयो । पूर्ण प्रेस स्वतन्त्रतासँगै मिडियाले जवाफदेहितालाई पनि मनन गर्नुपर्ने मन्त्री खतिवडाको भनाइ छ ।

आज पद बहाली गर्नुभएका सचिव हरिप्रसाद बस्याललाई सञ्चारसम्बन्धी केही ऐन÷कानून निर्माणको प्रक्रियाका रहेका बताउँदै सबै क्षेत्रको छलफलका आधारमा त्यसलाई अगाडि बढाउन निर्देशन दिनुभयो । सचिव बस्यालले प्रचलित ऐन÷कानूनको पालना गर्दै÷गराउँदै मन्त्रालयअन्तर्गत विभाग र सङ्घ÷संस्थाप्रतिको सकारात्मक भूमिका निर्वाह गर्दै आम विश्वासका साथ जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दूरदराजका जनतासम्म सञ्चार र प्रविधिलाई विस्तार गर्नेगरी काम गर्ने उहाँको भनाइ छ । उमेर हदका कारण सेवा निवृत्त हुनुभएका सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्मा र हुलाक सेवा विभागका महानिर्देशक कृष्णमुरारी न्यौपानेलाई आज बिदाइ गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology