• Monday 27th of July 2026

संस्कृत विश्वविद्यालयमा जडीबुटी उद्यान


  • गोकर्णेश्वर अनलाइन

नेपाल संस्कृत विश्वविद्यालय दाङले विद्यार्थीको सिकाइ सीप बढाउनका लागि जडीबुटी उद्यान निर्माण गर्ने भएको छ । संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद अध्ययन संस्थानले आयुर्वेद उत्तरमध्यमा तह (एएचए) र आयुर्वेद स्नातक तह (बिएएमएस) अध्ययरत विद्यार्थीका लागि विश्वविद्यालयकै जग्गामा जडीबुटी उद्यान निर्माण गर्न थालिएको हो । विसं २०६७ मा आयुर्वेद अध्ययन संस्थान स्थापना गरी आफ्नै आङ्गिक क्याम्पसमा आयुर्वेद स्नातक तह सञ्चालन गर्दै आएको विश्वविद्यालयले जडीबुटी उद्यान निर्माण नगर्दा विद्यार्थी मर्कामा परेका थिए । १८ बिघा क्षेत्रफलमा निर्माण गरिने उद्यानमा पाठ्यक्रममा रहेका ५०० जडीबुटीमध्ये हिमाली क्षेत्रमा पाइनेबाहेक सम्पूर्ण जडीबुटी रोप्ने तयारी गरिएको विश्वविद्यालयका डिन सञ्जय पोख्रेलले बताउनुभयो ।

“उद्यानभित्र रोपिएका सम्पूर्ण बिरुवाका नाम नेपाली, संस्कृत, अङ्ग्रेजी राखिनेछ भने बिरुवाको उपभोग्य बोक्रा, फल, पात कुन रोगका लागि कसरी प्रयोग गरिने भन्ने बारेमा विस्तृत सूचना पाटीको समेत व्यवस्था गरिनेछ”, विश्वविद्यालयका डिन सञ्जय पोख्रेलले भन्नुभयो । उद्यानभित्र जमीनमा पाइने, पानीमा पाइने जडीबुटी, लहरा प्रजातिका जडीबुटी, पार्किङस्थल, विश्रामस्थल, ध्यानस्थल, कम्पोष्ट मल तयार पार्ने ठाउँ रहने पोख्रेलले जानकारी दिनुभयो । उद्यानमा नीम, अमला, तुलसीलगायत जडीबुटी रोपेर खाद्य, पेय, औषधि, सुगन्धित पदार्थ, प्रशोधनका वस्तु र हर्बल उत्पादन गरिने उहाँको भनाइ छ । उद्यान निर्माणबाट आयुर्वेद अध्ययन गर्ने शिक्षक, विद्यार्थी, अनुसन्धानकर्ताले प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । व्यवस्थित एवं मनमोहक रुपमा निर्माण गरिने उद्यानले एकै ठाउँमा सबै जडीबुटीको अवलोकन गर्न पाउने हुँदा यसलाई बहुउपयोगी उद्यानका रुपमा लिन सकिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालय अनुुदान आयोगबाट रु पाँच करोडको प्रस्तावना स्वीकृत भएकाले तत्कालै काम अघि बढाइने भएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक रमेशप्रसाद ढकालले विश्वविद्यालयका प्रयोगविहीन अवस्थामा रहेका जग्गालाई प्रयोगमा ल्याउन पनि जडीबुटी उद्यान निर्माण गर्न लागिएको बताउनुभयो । “विश्वविद्यालयको सम्पूर्ण जग्गालाई कसरी उपभोगमा ल्याउन सकिन्छ भन्ने बारेमा विस्तृत अध्ययनमा छौँ, अध्ययनपश्चात् प्रतिवेदन तयार गरी योजनाबद्ध काममा लाग्नेछौँँ”, ढकालले भन्नुभयो । उहाँका अनुसार पहिलो चरणमा आयुर्वेदिक जडीबुटी अध्ययन–अनुसन्धानका लागि मात्रै उद्यान निर्माण गर्न थालिएको छ । जग्गाको विस्तृत अध्ययन प्रतिवेदनअनुसार व्यावसायिक रुपमै जडीबुटी उत्पादन गर्न सकिने उपकुलपति ढकालको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology