• Monday 27th of July 2026

पिसिआर परीक्षण गराउँदा परिचयपत्र अनिवार्य


  • गोकर्णेश्वर अनलाइन

कतिपयले झुटो विवरण लेखाई पिसिआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका विवरण झुटो र फरक पर्न थालेपछि नागरिकता वा परिचय खुल्ने आधिकारिक प्रमाणपत्र अनिवार्य गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले भन्नुभयो–“कन्ट्याक्ट ट्रेसिङ्ग र ट्र्याकिङ्गका आधारमा स्थानीय तहले सङ्कलन गरी दिएको विवरणमा कतिपयको नाम, उमेर झुटो लेखाएको पाएपछि परिचयपत्र खोज्न थालिएको हो ।” सर्वसाधारण युवादेखि कर्मचारी समेतले झुटो विवरण लेखाएको पाइएको कार्यालयले जनाएको छ ।

यादवले थप्नुभयो, “सम्भवतः आफूबाहेक अरु कसैले पनि जानकारी नपाओस् भनेर करिब चार÷पाँचजनाले अर्कै नाम र ठेगाना लेखाएर स्वाब सङ्कलन गराएकामा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएकाले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य गर्न लागिएको हो ।” जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको बैठकमा यस विषयबारे छलफल भएको र नाम, ठेगानासहितको विवरण सङ्कलन गर्ने स्थानीय तहलाई यसबारे जानकारी गराइएको यादवले बताउनुभयो । झुटो विवरण लेखाउने सबै व्यक्ति हाल सम्पर्कमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो । पिसिआर परीक्षणमा पोजेटिभ पुष्टि भएका व्यक्तिको नाम, ठेगाना नै फरक परेपछि खोजी गर्न समय लागेको यादवले बताउनुभयो ।

सङ्क्रमितको सम्पर्कका व्यक्तिमा छिटो पुगेर अवस्था पत्ता लगाउन विश्वास गरेर कसैको परिचयपत्र नमाग्ने गरिएकामा केही व्यक्तिका कारण उनीहरुको खोजीमा धेरै समय खर्चिनु परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताउनुभयो । सङ्कटका बेला प्राप्त साधन, स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बेलामा सही विवरण नदिएर पिसिआर जचाउन आउनेका कारण स्रोत र साधनको दुरुपयोग भएको उहाँको भनाइ छ । राजविराज नगरपालिका–६ र तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका सङ्क्रमितको सम्पर्कका रहेका व्यक्तिमा गरिएको परीक्षणपछि सप्तरी जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सप्तरीका ५१ जना सङ्क्रमित पुष्टि गरेको छ ।

यसमध्ये तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका २५ जना र राजविराज नगरपालिकाको विभिन्न वडाका २० जना रहेका छन् । त्यसपछि नयाँ थप भएका सातजना सङ्क्रमित सबै राजविराज नगरपालिकाका हुन् । थप भएका सात जनाको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ५३१ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण विस्तार हुन नदिन यही साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।

रोगको सङ्क्रमण बढ्न थालेपछि आज बिहान ५ बजेदेखि आगामी सोमबार साँझ ५ बजेसम्मका लागि सप्तरी जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताउनुभएको छ । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology